बेलडाँडी, १६ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी बासी लगायत बेलौरीका केहि वडाका स्थानीयहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण राती ८ बजे पछि पिजडामा थुनिए जस्तै नजरबन्द जीवनयापन गर्दै आएका छ ।
लगभग १० वर्ष यता देखि बेलडाँडी बासी नजरबन्द जस्तै जीवनयापन गर्दै आएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाटो हुदै बेलडाँडी जोड्ने हुलाकी सडक खण्ड बण्डीखेडा र बेलडाँडी क्याम्पमा राती ८ बजेपछि निकुञ्ज संरक्षणमा खटिएको सेनाले ताला लगाउने गरेपछि यहाँका स्थानीय वासी पिजडामा बसे जस्तै नजरबन्द जीवनयापन गर्न बाध्य बनेका हुन् । राती ८ बजे पछि बेलडाँडी घर फर्किने या सदरमुकाम महेन्द्रनगर जान चाहनेहरुलाई जताबाट आएको हो उतै फर्काइदिने गरिन्छ ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष बाट २०७३ साल फागुन ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिए पछि राती ८ बजेले प्राथामिकता पाएको स्थानीय बताउछन् ।
निकुञ्जको कोर एरियाभित्रबाट हुलाकी सडक भएकाले निकुञ्जले आफ्नै नियम लगाउने गरेको स्थानीयको भनाइ छ । निकुञ्जले या राज्यले बेलडाँडी बासीलाई सौतेली व्यवाहार गरेको बेलडाँडी २ चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले बताउन भयो । उहाँका अनुसार देश भर नभएको नियम हामी बेलडाँडी बासी सोझा भएकाले यस्तो विभेद गरेको बताए ।
यस्तै निकुञ्ज किनारका बस्तीमा कुनै पनि विकास योजना आउँदा आफू खुसी सञ्चालन गर्न पाइँदैन, निकुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिन मान्दैन, निकुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुमति नदिँदा गाउँमा आएका विकासका योजना निर्माण गर्न सकस भएको उनले बताए ।
कुनै विरामीलाई रात्री ८ बजे पछि बेलडाँडी भन्दा बाहिर लग्नु परे मन लागे लग्न दिने मन नलागे लग्न नदिने समस्या यहाँ पहिले देखि चलिआएको छ ।यसैबीच राष्ट्रिय निकुञ्जका कारण निकुञ्ज किनारका बस्तीमा जंगली जनावरको सास्ती पनि उत्तिकै छ ।
निकुञ्जभित्रै नापी भएको जग्गा छ तर स्थानीयले चलन भोग गर्नै पाएका छैनन् । आफ्नो जग्गामा खेतीपाती गरेको सबै जंगली जनावरले सखाप पार्ने गरेको स्थानीय ३८ वर्षीय राजेन्द्र सुनारले बताए । उनका अनुसार वर्षभरी खेतीपाती गरेर उब्जाएको अन्न, उखु, हात्ती, बाँदर, बँदेल चराचुरुङ्गी लगायतले सखाप पार्ने गरेको छ । ‘निकुञ्जका कारण धेरै समस्या छ, नजरबन्द सहेर बाँच्नु परेको छ । यस विषमा नेताहरु समेत केहि बोल्दैनन् ।,’ उनले भने, ‘चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ ।
घाँस दाउरा गर्न जंगल जाँदा निकुञ्जका कर्मचारीले दुःख दिने गरेको स्थानीय बताउछन् । निकुञ्जका कारण स्थानीयले भोग्नु परेको समस्या समाधानका लागि पटक पटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । निकुञ्जको नीति नियम र कानुन, जंगली जनावरको कारणले स्थानीयले सास्ती खेप्ने परेको बेलडाँडीका जनप्रतिनिधी बताउछन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विशेष गरी जंगली जनावरको बास स्थान अर्थात् घर हो । रात्रिकालिन समयमा जंगली जनावर ओहोरदोहोर गर्ने हुदा मानवलाई कुनै क्षति हुन्छकी भन्ने हेतुले ८ बजेपछि मानव आवत जावत बन्द गरिएको हुन सक्ने जनाइएको छ । चौबिसै घण्टा उक्त सडक खुल्ला छोड्दा जंगली जनावरलाई अन्याय भएको जस्तो देखिने हुदा रात्री हुलाकी सडक बन्द गरिएको हुन सक्ने विज्ञहरु बताउछन् ।
Discussion about this post