पच्चिस बर्ष पहिले राष्ट्रिय राजनीतिमा स्वर्गीय नेता प्रेमसिंह धामीलाई नचिन्ने सायदै कमै मान्छे थिए होलान । उनको स्र्गारोहण भएको २५ बर्ष पुरा गर्दा आज २५औं स्मृति दिवस परेको छ ।
आजकै दिन उहाँको बि.स.२०५४ साल भदौ २७ गते नुवाकोटको ककनी मदानपुरमा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । उहाँलाई एक खरो राष्ट्रवादी नेताको रुपमा आम मानिसले चिन्ने गर्दथे । धामीले टनकपुर सन्धि र महाकाली सन्धिको बिरोध मात्रै गरेनन् । महाकाली नदिको मुहान लिम्पियाधुरा हुनुका साथै भारतीय सुरक्षाकर्मीले नेपाली भुमि कालापानीलाई अतिक्रमण गर्दै आफ्नो सैनिक क्यामहरु खडा गरेको कुरालाई तत्कालीन समयमा सदन ,सडक र राष्ट्रिय स्तरका मिडियाहरुमा एकैचोटी जोडदार ढंगले उठाउने काम समेत प्रेम सिंह धामीले नै गरेका थिए ।
छोटो समयमै राष्ट्रवादी नेताका रूपमा छवि बनाउन सफल धामी नेपाली राजनीतिमा जनताका प्रिय नेता भए जस्तै भगवानका पनि प्रिय हुन पुगे र अकल्पनीय दुर्घटनामा अल्पायुमै ज्यान गुमाए । जहाँ उनले उठाएको कालापानी र लिम्पियाधुराको मुद्दा बिस्तारै नेपाली राजनीतिमा राष्ट्रिय मुद्दाको रूपमा प्रवेश पाउँदैछ ।
स्व .प्रेम सिंह धामी को हुन ?
२००९ साल भदौ २९ गते दार्चुला जिल्लाको मालिकार्जुन गा.बि.स . वडा नं . ८ स्थित घट्ट भन्ने ठाउँमा प्रेम सिंह धामीको जन्म भएको थियो । पछि उहाँको परिवार कन्चनपुर जिल्लामा बसाई सरेका थिए । पंचायतकालिन समयमा नेपाल सरकारका प्रा.बि.नि. पदमा सरकारी का जागिरे समेत रहेका धामी भित्रभित्रै पंचायत बिरोधी आन्दोलनमा समेत सक्रिय रहेका थिए । पछि सरकारी जागिरबाट राजिनामा दिएर बहुदलको स्थापना पछि २०४८ सालमा नेकपा एमाले बाट कञ्चनपुर क्षेत्र नं . ३ बाट प्रतिनिधिसभा निर्वाचन लडे तर पराजय भोग्नुपर्यो । पछि तत्कालिन राष्ट्रिय सभामा मनोनित भएका थिए । बि.स. २०५१ सालको कार्तिकमा भएको प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा धामी आफ्नो जन्मथलो दार्चुलामा नेकपा एमाले बाट चुनाब लडे र प्रतिनिधि सभाको निर्वाचनमा बिजय प्राप्त गरे । उहाँको बि.स.२०५४ साल भदौ २७ गते नुवाकोटको ककनी मदानपुरमा गाडी दुर्घटनामा परी मृत्यु भयो ।
पहिलो कम्युनिष्ट सरकारका राज्यमन्त्री :
स्व. प्रेम सिंह धामी २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्री बनेका थिए । धामी १५ सदस्यिय मन्त्रीमन्डलमा राज्यमन्त्रीको भुमिकामा रहे ।
मदन भण्डारीको प्यारा पात्र :
स्व. प्रेम सिंह धामी नेकपा एमालेका तत्कालिन महासचिव तथा लोकप्रिय नेता स्व.मदन कुमार भण्डारीका प्यारा पात्र थिए । धामीलाई मदन भण्डारीले नै राजनीतिमा सक्रिय गराएका थिए । मदन भण्डारीकै प्रेरणाबाट राजनीतिमा आएका प्रेमसिंह धामीले भण्डारी कै मार्गलाई पछ्याउँदै राजनीति गरिरहेका थिए । बि.स.२०५० सालको दासढुंगा दुर्घटनामा मदन भण्डारी दिबंगत भए सँगै अविभावक बिहिन बन्न पुगेका धामी भण्डारीको मृत्यु भएको चौथो बर्ष २०५४ साल भदौ २७ गते त्यहिँ नियतिका साथ नुवाकोटमा गाडी दुर्घटनामा मृत्यु वरण गर्न पुगे ।
टनकपुर र महाकाली सन्धिको बिरोधी :
विवादास्पद टनकपुर सन्धिको सम्बन्धमा धामीले खुलेरै बिरोध गर्नु भएको थियो । महाकाली सन्धिको सम्बन्धमा केपी ओलीको संयोजकत्वमा बनेको सन्धि अध्ययन कार्दलको सात जना सदस्य मध्ये प्रेम सिंह धामी पनि हुनुहुन्थ्यो । जहाँ खगराज अधिकारी , हिरण्यलाल श्रेष्ठ र ऋषि लुम्सालीले सन्धिका २६ बुदा सुधार गरेर मात्रै सम्झौता गर्नुपर्छ भन्ने मत राखेका थिए । तर उहाँहरुको कुराको कुनै सुनुवाई भएन । अझै नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समेत महाकाल सन्धीको पक्ष र बिपक्षमा निर्णय हुदाँ प्रेम सिंह धामी विपक्षमा नै रहेका थिए । विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेपछि प्रेम सिंह धामीले बाचुन्जेल सम्म महाकाली सन्धिलाई राष्ट्रघाती सन्धि भन्दै बिरोध नै गरिरहे ।
कालापानीको आवाज सदनमा उठाउने पहिला व्यक्ति :
दार्चुलामा भारतले अतिक्रमित भुमि कालापानीको को बारेमा प्रेम सिंह धामीले २०४८ मा राष्ट्रिय सभाको सदनमा उठाएको थिए । जुन कुरालाई एमालेका नेता प्रदिप नेपालले पटक पटक आफ्नो बिभिन्न लेखहरूमा र अन्तर्वार्ताहरुमा बताउने गरेका छन् । प्रेम सिंह धामीले बोलेको कुरा अझै पनि राष्ट्रिय सभाको रेकर्डमा सुरक्षित पाउन सकिन्छ । भारत अतिक्रमित कालापानी नेपाली भुमि भएको र नेपाल भारतको सीमाबिन्दु लिम्पियाधुरा रहेको कुरा समेत उहाँले नै पहिलो पटक सदनमा उठाउनु भएको थियो ।
पार्टीले बिर्सिएका व्यक्ति :
प्रेम सिंह धामी सुदूरपश्चिम क्षेत्रबाट तत्कालीन एमालेका राम्रै प्रभावशाली नेताका रुपमा हुनुहुन्थ्यो । तर उहाँको मृत्यु पश्चात (नेकपा एमाले ) पार्टीले बिर्सिए जस्तै गर्यो । मदन भण्डारीको दुर्घटनामा मृत्यु पश्चात उहाँकी पत्नी बिद्या भण्डारीलाई दूई दुई पल्ट पार्टीकै बलमा राष्ट्रको सर्वोच्च पद राष्ट्रपति बनाईयो । हालै पनि कास्कीका नेता रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना मृत्यु पश्चात उहाँले ठाउँमा उहाँकी पत्नी बिद्या भट्टराईलाई सांसद बनाईएको छ । तर प्रेम सिंह धामीको मृत्यु पश्चात राजनैतिक सहभागिता र अबसरको कुरा त निकै टाढाको कुरा हो । उहाँको मृत्यु पश्चात उहाँको पारिवारिक स्थिति के छ ? भन्ने सम्म पार्टीले चासो राखेन ।
सडक चाहियो भन्दै राज्यमन्त्री बाट राजीनामा :
प्रेम सिंह धामी राज्यमन्त्री हुँदा दार्चुला सडक संजालमा जोडिएको थिएन । उहाँ राज्यमन्त्री भएकै सरकारले बजेट ल्याउने समयमा बैतडी- दार्चुला (बैतडी हुदै दार्चुला जोड्ने ) सडकखण्डमा आवश्यक रकम बिनियोजन नभएको , आफुले राज्यमन्त्रीको हैसियतले गृहजिल्ला जाँदा समेत भारतीय बाटो भएर जानुपर्ने बाध्यता रहेको हुँदा आफुलाई हिनताबोध भएको र बर्तमान आफै सहभागी सरकाले समेत दार्चुलालाई उपेक्षा गरेको भन्दै २०५२/०३/२१ पदबाट राजीनामा गरेका थिए । पछि सरकारले थप रकम बिनियोजन गर्दै उहाँको राजीनामा थमौती गरेको थियो ।
माओवादी समस्या समाधान समितिका संयोजक :
बि.स. २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धको बारेमा सरकारी स्तरबाट पहिलो पटक बि.स. २०५४ साल बैसाखमा प्रेम सिंह धामीकै नेतृत्वमा माओवादी समस्या अध्ययन तथा समाधान समिति गठन भएको थियो । तर साउनमै उहाँको दुर्घटना मृत्यु पश्चात उक्त जिम्मेवारी नेता बामदेव गौतमलाई दिईएको थियो ।
एउटा कुशल लेखक :
प्रेम सिंह धामी राजनैतिक रुपमा बिशुद्ध नेता मात्रै नभएर एक कुशल लेखक पनि हुनुहुन्थ्यो । उहाँको चर्चित लेख ‘काठमाण्डौलाई कालापानी किन दुख्दैन ‘ अहिले पनि उत्तिकै उर्जावान र सशक्त मानिन्छ । जुन लेखमा उहाँले ‘भियतनाममा अमेरिकी सेना आउदा आन्दोलनले तात्ने असन र इन्द्रचोक कालापानीमा भारतीय सेना बस्दा किन मौन छन ? के काठमाडौंलाई कालापानी दुख्दैन र ? ‘ भन्ने मुल मर्म सहित लेखिएको थियो । जुन लेख प्रकाशित भएको हप्तादिन नबित्दै अकल्पनिय ढंगले उहाँले मृत्यु वरण गर्नपुगे । यति मात्रै नभई ‘लछुवाका शीर्षक र पार्टीका शीर्ष नेताहरु’ , ‘ब्वाँसा ,सुगुर र माछाको कथा ‘ शीर्षकका लेखहरू अहिले पनि उत्तिकै सान्दर्भिक र अर्थपूर्ण लेखको रुपमा रहेको छन ।
एउटा राम्रो शालिक सम्म छैन :
स्व. नेता प्रेम सिंह धामीको बसाई महेन्द्रनगरमा भएपनि उहाँले आफ्नो राजनैतिक थलो जन्मभूमि दार्चुलालाई बनाएका थिए ।
उहाँले थोरै समयमा राष्ट्रिय राजनीतिमा राष्ट्रियताको मुद्दालाई मौलिक र सशक्त ढंगले उठान गर्दै जति नै चर्चा कमाएपनि जिल्लामा (दार्चुलामा ) उहाँको एउटा राम्रो शालिक सम्म रहेको छैन ।
नेकपा मालेले २०५५/०५६ तिर जिल्ला सदरमुकाममा उहाँको अर्धकदको शालिक बनाएको भए पनि संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको छ । साथै उहाँको जन्मस्थान मालिकार्जुनमा उहाँको नामको प्रतिष्ठानले शालिक निर्माण गरेको भए पनि उहाँको अनुहार सम्म पनि नमिल्ने शालिक निर्माण गरेर उभ्याएको छ ।
दुर्घटनामा स्थल नुवाकोटको ककनी मदानपुरमा हालसम्म पनि कसैले उहाँको शालिक निर्माण गर्न सकेका छैनन् । जहाँ नुवाकोटका स्थानीयले पटक पटक दुर्घटना स्थलमा सालिक नभएकोमा दुखेसो पोख्ने गरेका छन् । तर त्यसतर्फ उहाँको पार्टी , प्रतिष्ठान र परिवार कसैले पहल गर्न सकेका छैनन । एउटा राष्ट्रवादी नेताको दुर्घटना स्थलमा शालिक सम्म स्थापना गर्न नसकिनु निकै लज्जाको बिषय हो ।
कालापानीको मुद्दाले बल्ल प्राथमिकतामा पाउँदै :
स्व. प्रेम सिंह धामीले उठान गरेको कालापानीको मुद्दाले बल्ल प्राथमिकता पाउदै छ । बि.स . २०७७ साल जेठमा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिने गरि नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । जुन यसअघिको नक्सामा थिएन । नयाँ नक्साअनुसार संविधानको निसाना छाप रहेको अनुसूची पनि संसद्बाट संशोधन गरिएको छ । साथै पाठ्यपुस्तकमा समेत लिम्पियाधुरा सहितको भुभाग समेटिएको नक्सा राखिएको छ । साथै लिपुलेक हुँदै भारतले नेपालको भुमि प्रयोग गरेर कैलासमानसरोवर जाने सडक बिस्तार गरेको प्रति सरकारले आपत्ति जनाउँदै कुटनैतिक वार्ताको लागि भारतलाई कुटनैतिक नोट समेत पठाएको थियो । स्व.धामीको निधन भएको करिब तेईस बर्षपछि उहाँले उठाएको मुद्दामा सरकारले अपनत्व लिएको छ । काठमाडौंलाई कालापानी बल्ल दुखे जस्तै भएको छ । यद्दपी भुमि फिर्ता ल्याउने र भारतीय सुरक्षाकर्मीलाई नेपाली भुमिबाट हटाउने ठोस पहल भने हुन सकेको छैन ।
उहाँको नाममा प्रतिष्ठान छ तर विवादित :
उहाँको दुर्घटनामा निधन भएपछि बि.स. २०५६/०५७ सालतिर दार्चुलामा उहाँको नामबाट एक स्मृति प्रतिष्ठान बनाईएको छ । उहाँको परिवार कंचनपुरमा बस्ने हुँदा उक्त उहाँको नामको प्रतिष्ठानमा परिवारका सदस्यको संलग्नता न्युन छ । यसको नेतृत्वका बारेमा र बजेट चलाउने बेलामा कसले जसलिने भन्ने ढंगले केहि व्यक्तिहरू बिच आ-आफ्नै इगोको कारण प्रतिष्ठान क्रियाशील भएपनि विवादित अवस्थामा रहेको छ ।
उहाँको नामबाट भोटको राजनीति गरिन्छ :
स्व.प्रेम सिंह धामीको नाम चुनावताका खुबै सुन्न पाईन्छ । अरूबेला बिरलै सम्झिने नेताहरु चुनावको समयमा आफु प्रेम सिंह धामीको उत्तराधिकारी भएको र उहाँका बाँकी सपना (अधुरा सपना ) आफुले पुरा गर्ने भन्दै उहाँको नाममा भोटको राजनीति गर्ने गरेका छन । एमाले त झन चुनाव जित्न र उहाँप्रतिको आस्था राख्नेहरुका भोट सुरक्षित गर्नका लागि उहाँकै जन्मथलो मालिकार्जुनबाट आफ्नो चुनावी प्रचारको औपचारिक शुभारम्भ गर्ने गरेको छ ।
अन्त्यमा ……..
स्व.प्रेम सिंह धामी एउटा दार्चुलाका माननीय मात्रै नभई सुदूरपश्चिमेली राजनैतिक क्षितिजका एक चम्किला नक्षत्र थिए । जहाँ उहाँको छोटो समयको राष्ट्रिय राजनीतिमा बनेको छवि आजसम्म पनि उत्तिकै स्मरणयोग्य छ । हिजो ( प्रेम सिंह धामी )एउटा सांसदले देशको राष्ट्रियताका सन्दर्भमा दुई दशक पहिला उठाएको कुरा आज समग्र देशको एजेण्डा बनेको छ ।
हिजो उहाँले गरेको टनकपुर र महाकाली सन्धिको बिरोधमा पनि दम रहेछ र राष्ट्रघात भएकै रहेछ भन्ने कुरा अहिले राष्ट्रव्यापी रुपमा सबैले चिताएका छन ।
आज प्रेम सिंह धामी भौतिक रुपमा हामीमाझ नरहेपनि उहाँले उठाएका राष्ट्रियताका एजेण्डा जिवित छन ,सहि र सान्दर्भिक छन ।
पार्टीले उहाँलाई मतलब नगरेर कुनै असर परेको छैन। धामी भौतिक रूपमा जिवित नहुँदा पनि उहाँको एजेण्डा देशले बोक्नु नै धामीको राजनैतिक हाईट उहाँकै पार्टी भित्रका अहिलेका जिवित नेताहरुको भन्दा माथि छ भन्ने हो ।
राष्ट्रिययताको सवालमा उहाँको चट्टानी अडानको वास्तविक तागत कति रहेछ भन्ने कुरा अहिले पुष्टि हुदैछ । प्रेम सिंह धामीले तत्कालीन समयमै उठाएको कालापानीको कुरालाई र महाकाली सन्धिको सम्बन्धमा महाकाली नदिको वास्तविक मुहान लिम्पियाधुरा नै हो भन्ने कुरालाई भारतसंग सन्धि गर्दाका बखत प्रष्ट पारिएको भए सायद आज हामीले ३६५ बर्गकिलोमिटर नेपाली भुभाग गुमाउने थिएनौ होला ।
तर ढिलै भएपनि सरकारले लिम्पियाधुरा सहितको भुभाग हाम्रो नक्सामा समावेश गरेको छ । चाँडै भुमि फिर्ताको लागि पहल गरि अतिक्रमित भुमि फिर्ता गराउन सकेमा मात्रै राष्ट्रवादी नेता स्व. धामीको सपना साकार हुनेछ ।
उहाँलाई चिरस्थायी बनाउन र उहाँको योगदानलाई अझै दिगो बनाउन उहाँको नाममा खोलिएको प्रतिष्ठानलाई प्रभावकारी रुपमा संचालन गर्नु र उहाँको परिवारका सदस्यहरुको पनि अधिकतम सहभागिता गराउनु आवश्यक देखिन्छ ।
स्व. धामीको योगदानलाई पछिल्लो पुस्तासम्म चिनाउन र उहाँको पहिचानलाई चिरस्थायी बनाउन दुर्घटना स्थल ( नुवाकोटको ककनी मदानपुर ), गृहजिल्ला कंचनपुरमा र दार्चुलामा एउटा -एउटा शालिक निर्माण गरि राष्ट्रवादी नेताको छविलाई अझै पहिचान सहित कायम राख्दै उहाँप्रतिको सम्मान बढाउनु आवश्यक देखिन्छ । जसका लागि उहाँको पार्टी, परिवार र प्रतिष्ठानले चाँडै कदम चालोस ।
Discussion about this post