कैलाली:
जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् ।यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन्।
उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको जानकारी दिएकी छिन् ।संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन्। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्छ।
यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ। तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन।
कसरी थाहा पाउने?
यो रोगमा बेस्सरी टाउको दुख्ने, धेरै ज्वरो आउने, बान्ता हुने, बेहोस हुने, घाँटी अररो हुने र शरीरमा कम्पन हुने जस्ता लक्ष्यण देखा र्पछन् जापानिज इन्सेफलाइटिसको संक्रमण भए मस्तिष्कमा असर भइ पक्षघात हुने जस्ता लक्षणहरु देखा परेर मानिसको मृत्युसमेत हुन सक्छ। तसर्थ उल्लेखित लक्ष्यण मध्ये कुनै एक या दुई लक्ष्यण देखा पर्नासाथ अस्पताल जानुपर्ने स्वास्थ्य अधिकारीले बताएका छन्।
संक्रमणबाट बच्न के गर्ने?
यस रोगबाट बच्न सुँगुर, बँगुर, हाँस पालनलाई व्यवस्थित वनाई घर वरिपरि सफा राख्नुका साथै खेतबारीमा काम गर्दा पुरा बाहुला भएका लुगा लगाउनुपर्ने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख जोशीले बताइन्। घरको झ्याल, ढोकामा जाली लगाउने, झुलभित्र मात्रै सुत्ने तथा लामखुट्टे धपाउने धुप र मलमको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘यो रोगका लक्षण देखा पर्ना साथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्नु पर्छ भने नियमित खोपमा ५ वर्ष मुनिका बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउने र अन्यलाई पनि खोप लगाउन सकिन्छ।’
संक्रमण देखा परेको क्षेत्रमा खोप लगाउने तयारी
स्वास्थ्य कार्यालय कैलालीमा आइतवार आपतकालीन बैठक बसी संक्रमण फैलिन नदिन सरोकारवालाहरूसँग छलफल गरिएको छ। छलफलमा स्थानीय तहहरूसँग समन्वय गरेर संक्रमण फैलिन नदिने, बिरामीको प्रभावकरी उपचार गर्ने र संक्रमण देखिएको क्षेत्रको अनुगमन गरी खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। संक्रमण थप फैलिन नदिन खोपको व्यवस्थापन गरेर अहिले बिरामी फेला परेको ठाउँमा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।
Discussion about this post