बेलडाँडी, १० असोज । बेलडाँडी गाउँपालिकाले शिक्षकको तलब सिधैं खातामा हाल्ने व्यवस्था चालू आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक देखि शुरु गरेको छ । पालिका अन्तर्गत कार्यरत निजि बाहेकका सम्पूर्ण शिक्षक तथा कर्मचारीको तलब सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा ईएफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) गरि निकासा भैसकेको बेलडाँडी गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
यसअघिसम्म सम्बन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गर्दै आएको गाउँपालिकाले शिक्षकको तलब मासिक रूपमा ईएफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) मार्फत सिधै बैंक खातामा निकासा दिन थालेको बेलडाँडी शिक्षा शाखाका प्रा.स लोकेन्द्र शाहीले जानकारी गराउनु भयो । उहाँका अनुसार स्थायी, राहत , अस्थायी करार , संघीय अनुदान ,गाउँपालिका अनुदान शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारीको तलब सोझै खातामा निकासा भइसकेको बताउनु भयो । ईएफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) विधिले विद्यालयको लेखा परिक्षण शुल्क घट्ने, समयमै सम्बन्धित शिक्षकको खातामा निकासा, प्रधानाध्यापक र विद्यालय लेखापालको कार्यबोझ घट्ने, विद्यालय व्यवस्थापन समिति प्र अ ले गर्दा विद्यालयको निकासा रोक्नु पर्ने अवस्थाले गर्दा प्र अ बाहेकका अन्यलाई मर्का पर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।
यसबाट गाउँपालिकाको १४ विद्यालयका १ सय ४३ जना शिक्षक, कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि शिक्षकको तलब सम्बन्धित विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्बन्धित शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो ।
तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि ईएफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए । तलवी विवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गराउने बेलडाँडी गाउँपालिका कञ्चपुरको पहिलो र सुदूरपश्चिकै दोस्रो तेस्रो पालिका बनेको अध्यक्ष रानाले दाबी गरे । ‘त्रैमासिक रूपमा विद्यालयमा दिँदै आएको शिक्षक कर्मचारीको तलब अव इएफटिमार्फत सौझै बैंक खातामा पठाउने काम सुरु भएपछि शिक्षकहरूलाई सहज हुनेछ’, उनले भने । विद्यालय बन्द तथा बैंक बन्दको असर निकासामा नपर्ने, संचय कोष, नागरिक लगानी कोष तथा समाजिक सुरक्षा कर कट्टी गरी सम्बन्धित कार्यालयमा जम्मा गर्न जाने समय र पैसाको बचत हुने समेत अध्यक्षको दावी छ ।
गाउँपालिकाले सिधैं शिक्षकको खातामा तलब जम्मा गर्ने व्यवस्थाले प्रधानाध्यापकको समय बचत हुने र गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनाउन पालिकाले यस्तो कार्य गरेको हो । यो विधिले शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ । कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति लगायत समेत थाहा हुनेछ ।’
तलबका लागि विद्यालयका प्रधानाध्यापक गाउँपालिका पुग्नुपर्ने, प्रधानाध्यापकले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय बेला प्रधानाध्यापकले भने पनि शिक्षकको तलब जम्मा नगरिदिने समस्या अब हल भएको शिक्षकहरूको बुझाई छ ।
Discussion about this post