कञ्चनपुर, पुष १५ । पुुसे औसीसंगै कञ्चनपुरमा पनि भुवा पर्व शुरु भएको छ । हिजो सोमबारदेखि जिल्लाका विभिन्न स्थानमा भुवा पर्व मनाउन थालिएको हो । जिल्लाका विभिन्न गाँउबस्ती शहरमा बाजुरा,बझाङ्ग,अछाम पुख्यौली घर भई हाल कञ्चनपुरमा बस्दै आएका समुदायले भुवा पर्व मनाउन लागेका हुन् ।
बडीमालिका एकता समाजले पनि भीमदत्त नगरपालिका महेन्द्रनगर क्षेत्रमा भुवा पर्व मनाउन लागेको छ । बडीमालिका एकता समाजका अध्यक्ष डम्बर खडकाले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कदेखि पर्व मनाउन शुरुवात गरिएको बताए ।
‘हामीले सोमवारदेखि शुरुवात गरेको भुवा पर्व जसले आमन्त्रण गर्छ, उसैको घरमा गएर खेलिरहेका छौैँ, ‘उनले भने, ‘हाम्रंो मौलिक धर्म संस्कृति, कला बचाउने हाम्रो संकल्प छ ।’ बडीमालिका एकता समाजका सचिव जनक विक्रम सिहले सुदूरको संस्कृति कला संरक्षणका लागि भुवा नाचका माध्यमबाट भुवा खेलिरहेको बताए । हिजो १५ पुषदेखि शुरुवात गरिएको भुवा पर्व १९सम्म खेलेर महेन्द्र स्मारकमा गएर समापन गरिने बताउनु भयो ।
के हो भुवा पर्व
पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ । पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ ।
तीनदेखि पाँचदिनसम्म मनाइने पर्व सुदूरका पहाडी जिल्लाका विभिन्न ठाउँमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बिच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ ।
यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ ।
Discussion about this post