सुदूरपश्चिमा चैत महिनामा भिटौला पर्वको रमझम : चेलीबेटीलाई माइतीको माया

कञ्चनपुर । चैत महिना सुरू भएसँगै सुदूरपश्चिममा भिटौला पर्वको उल्लास छाउन थालेको छ । भाइबहिनीको स्नेहको प्रतीक मानिने यस पर्वमा दाजुभाइहरू बिहे भइसकेका दिदीबहिनीलाई भेट्न उनीहरूको घर पुग्छन् । विशेष गरी बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा मात्र नभई सीमावर्ती भारतीय गाउँहरूमा समेत यो पर्वको प्रचलन जीवित छ ।

चैत महिना खडेरीको समय भएकाले यस महिनामा खाद्यान्नको जोहो गर्न कठिनाइ हुने भएकाले पनि माइतीले आफ्नी चेलीलाई खानेकुरा, लुगाफाटो तथा विभिन्न उपहार लिएर जाने चलन रहिआएको छ । माइतीबाट आएका कोसेलीले चेलीबेटीको मन मात्र होइन, गाउँभरि खुसीको माहोल सिर्जना गर्छ ।

भिटौला पर्व सामाजिक सम्बन्ध बलियो बनाउने सन्देश बोकेको संस्कृति हो । “अहिले धेरै परम्परा हराउँदै गएको देखिए पनि भाइबहिनीबीचको सम्बन्धलाई मजबुत बनाउने यो पर्व अझै निरन्तर चलिरहेको छ,”।

यस अवसरमा परम्परागत रूपमा सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल लगायत विभिन्न परिकार तथा लुगा–कपडा उपहार दिने चलन रहिआएको छ । समय अनुसार बजारबाट किनिएका मिठाइ तथा कोसेलीहरू लाने चलन बढे पनि पर्वको महत्व भने यथावत् छ ।

भिटौलो पर्वको उत्पत्तिसम्बन्धी विभिन्न किंवदन्तीहरू प्रचलित छन् । संस्कृतविद् मुरलीधर अवस्थीका अनुसार भारतको कुमाउ क्षेत्रमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने वाचा गरेका थिए । तर, व्यस्तताका कारण भेट्न नसकेपछि बहिनीको पर्खाइ पीडादायी बन्यो । यही घटनाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई मजबुत बनाउन यो पर्वको परम्परा बसेको विश्वास गरिन्छ ।

चेलीबेटीलाई दान दिनु पुण्य कर्म मानिने भएकाले पनि यो पर्वको महत्त्व अझै गाउँघरमा कायमै छ । विशेष गरी, एक रात चेलीबेटीको घरमै बास बस्ने चलनले पारिवारिक सम्बन्धलाई झनै आत्मीय बनाउने विश्वास गरिन्छ ।

समय बद्लिएसँगै भिटौलो पर्व मनाउने शैलीमा केही परिवर्तन आएको छ । पहिले घरमै तयार गरिएका पकवान तथा स्थानीय सामग्रीहरू उपहार दिने चलन थियो भने अहिले बजारबाट किनिएका वस्तुहरू लगिने चलन बढेको छ । तर, पर्वको वास्तविक उद्देश्य भने उस्तै छ— दाजुभाइ र दिदीबहिनीबीचको स्नेहलाई जीवन्त बनाउने ।

सुदूरपश्चिममा मात्र सीमित यो पर्व अब अन्य स्थानमा समेत विस्तार हुन थालेको छ । परिवर्तित समयअनुसार भिटौलो मनाउने शैली फरक भए पनि यसको मौलिकता र भावनात्मक पक्ष भने अटल छ । भाइबहिनीको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने यो पर्व सुदूरपश्चिमेली समाजको एक महत्वपूर्ण सांस्कृतिक सम्पदा बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित