काठमाडौँ – भारतबाट बिजुली आयातमा कमी आएपछि नेपालका ठूला औद्योगिक क्षेत्रहरूमा लोडसेडिङ सुरु भएको छ। पछिल्ला पाँच दिनदेखि वीरगञ्ज–पथलैया र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा दैनिक १२ घण्टासम्म बिजुली काटिन थालेको छ।
व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापनका नाममा उद्योगहरूमा बिजुली आपूर्ति कटौती गर्दा लागत बढेको र उत्पादन आधा घटाउन बाध्य भएको गुनासो गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालका अनुसार घरायसी लाइन जोगाइए पनि उद्योगहरूमा लोडसेडिङले उद्योगीहरूलाई थप अप्ठ्यारो पारिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष रामचन्द्र संघाईले ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको आन्तरिक विवादका कारण उद्योगीहरू मारमा परेको आरोप लगाए।
मोरङ औद्योगिक संगठनका निवर्तमान अध्यक्ष सुयस प्याकुरेलले सरकारको निष्क्रियताका कारण उद्योगीहरू दैनिक ‘गाईजात्रा’ झैँ समस्या भोग्न बाध्य भएको बताए। नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ध्रुवराज थापाले सिमेन्ट उद्योगहरू चौबिसै घण्टा सञ्चालनमा रहनुपर्ने भए पनि लोडसेडिङले ठूलो असर पारेको गुनासो गरे।
तर, कुलमान घिसिङले भने हाल लोडसेडिङ नभएको र उद्योगीहरूले अनावश्यक हल्ला फैलाएको दाबी गरेका छन्। उनका अनुसार रातिको समयमा १००० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।
सुक्खायाम सुरु भएसँगै बिजुली आपूर्तिमा समस्या देखिएको र भारतले दिनको १२ घण्टामात्र बिजुली दिन थालेपछि उद्योगहरू प्रभावित बनेका छन्। सरकारले भारतसँग साँझको समयमा २३० मेगावाट बिजुली आपूर्तिका लागि औपचारिक अनुरोध गरिसकेको छ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्दै जाँदा व्यवसायीहरूले सरकार र प्राधिकरणलाई तत्काल समाधान खोज्न आग्रह गरेका छन्।
Discussion about this post