बेलडाँडी । राजनीतिमा जब पद, पैसा र प्रभावलाई प्राथमिकता दिइन्छ, तब जनताको सेवा गर्ने संकल्प चुक्नेगर्छ। तर केही यस्ता प्रतिनिधिहरू पनि हुन्छन्, जसले न पदको मोह राख्छन्, न पैसाको लोभ । त्यस्तै अनुकरणीय नाम हो — भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशी ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरको टिकट पाएसँगै उनले आफ्नो कर्मभूमिलाई सेवा र समर्पणको स्थल बनाइदिएकी छन्। राजनीतिमा लोकप्रियता भन्दा पनि प्रभावकारी काम, जनमुखी नीति र सेवामूलक सोच राख्ने नेतृको रुपमा उनी चिनिँदै गएकी छन् ।
निलम लेखक जोशीको विशेषता के हो भने उनी कुर्सीमा बसेर मात्रै आदेश दिइरहने नेतृ होइनन्। नगरका वडादेखि बस्तीसम्म, समस्यादेखि समाधानसम्म उनी सधैं सक्रिय रहन्छिन् । जनताको पिरमर्का बुझ्न उनी आफैँ जान्छिन्, सुन्छिन्, र सकेसम्म तत्काल समाधान खोज्न प्रयास गर्छिन् ।
परिवार, सन्तान र व्यक्तिगत जीवनको चाहना सबैमा हुन्छ। निलम जोशी पनि त्यही आम नेपाली आमाजस्तै एक गृहिणी, एक आमा, एक जीवनसंगी हुन् । तर उनले आफ्नो व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवामा २४ सै घण्टा समर्पण गरेको स्थानीयवासीहरू बताउँछन्। “हामी राती १० बजे फोन गर्दा पनि फोन उठाएर समस्या सुन्छिन्,” भीमदत्तकी एक महिलाले भनिन्, “यस्तो उपमेयर हामीले पहिले देखेका थिएनौं ।”
न्यायिक समितिको संयोजकको भूमिकामा रहेकी लेखक जोशीले विवाद समाधानमा निष्पक्षता अपनाउँदै आएकी छन् । उनका निर्णयहरू पीडितलाई न्याय दिने, दुवै पक्षलाई सन्तुष्ट तुल्याउने खालका हुने गरेका छन् । यही कारण उनको न्यायिक कार्यशैलीप्रति नगरवासीको विश्वास उच्च छ ।
त्यस्तै, विकास योजनाको कार्यान्वयनमा पनि उनको भिन्न तरिकाले काम गर्ने शैली छ । अन्य पालिकाहरूमा जस्तो योजना पास गराउने बेला अनावश्यक झमेलाहरू आउने, उप–प्रमुखबाट स्वार्थसिद्धिको प्रयास हुनेजस्ता गुनासोहरू बारम्बार उठिरहँदा, भीमदत्त नगरमा भने निलम लेखक जोशीले प्राविधिक मूल्याङ्कनअनुसार काम छिटो अघि बढाउन निर्देशन दिने गरेकी छन् ।
एक उपभोक्ता समितिका अध्यक्षका अनुसार, “उहाँको ध्यान विकासमा हुन्छ, कमिसनमा होइन। प्राविधिकरूपमा योजना सही भए तुरुन्तै स्वीकृति दिनुहुन्छ ।”
राजनीतिमा व्यवहारिकता र सहकार्य अत्यन्तै आवश्यक हुन्छ। निलम जोशी लेखक यस मामलामा पनि उत्कृष्ट मानिन्छिन् । उनले नगर विकासका लागि सबै पार्टीका प्रतिनिधिहरूसँग परामर्श गर्ने, सहकार्य गर्ने र राजनीतिक मतभेदभन्दा पनि नगरको हितलाई प्राथमिकता दिने अभ्यास गर्दै आइरहेकी छन् ।
अर्कोतर्फ, अन्य पालिकामा योजना पास गराउन घरमै बोलाई सहमति माग्ने, समर्थनको साटो अनावश्यक सौदाबाजी गर्नेजस्ता अभ्यासहरू भइरहेका बेला भीमदत्त नगरपालिकामा भने यस्तो गतिविधि अत्यन्त न्यून रहेको छ । निलम लेखक जोशीको स्पष्ट र पारदर्शी शैलीकै कारण यस्तो भएको बुझिन्छ ।
उनको कार्यशैली, जिम्मेवारीप्रति प्रतिबद्धता, र निष्ठाले गर्दा अन्य पालिकाका उप प्रमुखहरूले समेत सिक्नुपर्ने कुरा कञ्चनपुरवासी खुला रूपमा बताउने गर्छन् । स्थानीय एक युवाले भने, “राम्रो गर्नेलाई पार्टी हेरेर होइन, काम हेरेर समर्थन गर्नुपर्छ। लेखक जोशीज्यूजस्तो काम गर्ने जनप्रतिनिधि हाम्रा लागि गर्वको विषय हुन् ।”
राजनीतिमा काम गर्ने तरिका फरक हुन सक्छ, तर जनताको सेवामा समर्पण नै सबैभन्दा महत्वपूर्ण कुरा हो । भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशी आजको राजनीति भित्रको त्यो उज्यालो आशा हुन्, जहाँ पद, पैसा र शक्ति भन्दा जनताको पीडा, समस्या र अपेक्षा ठूला मानिन्छन् ।
उनको प्रशंसनीय कार्यशैलीलाई अन्य स्थानीय तहका प्रतिनिधिहरूले पनि अनुकरण गर्न सक्ने हो भने, कञ्चनपुर मात्र होइन, देशैभरको स्थानीय शासन प्रणालीमा नयाँ उज्यालो दिनको सुरुवात हुन सक्छ ।
Discussion about this post