बेलडाँडीमा आधारभूत तह (कक्षा ८) परीक्षाको नतिजा सार्वजनिक, सामुदायिक विद्यालयको बिजोग

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा कक्षा ८ को नतिजा सार्वजनिकसँगै सामुदायिक विद्यालयहरूको स्तरीयताको असल तस्वीर उजागर भएको छ । शिक्षा क्षेत्रमा राज्यको करोडौं लगानीका बाबजुद बेलडाँडीका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ भने जम्मा २४.०६ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् । यस्तो परिणामले बेलडाँडीको सामुदायिक शिक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

गाउँपालिकाका १४ विद्यालयबाट ३ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तर, तीमध्ये जम्मा ९६ जनाले मात्र आगामी कक्षा ९ मा जाने योग्यता प्राप्त गरे । बाँकी ३ सय ३ जना विद्यार्थी फेल भएपछि आम नागरिक, अभिभावकदेखि स्थानीय सरकारसम्म चिन्तित बनेका छन् ।

सबैभन्दा गम्भीर अवस्था राधाकृष्ण जनप्रिय आधारभूत विद्यालय, बैवाह र सिद्धनाथ आधारभूत विद्यालय, सिद्धचोकको रहेको छ । दुवै विद्यालयबाट क्रमशः १८ र १२ जना विद्यार्थी परीक्षामा सहभागी भए पनि एक जनाले पनि पास गर्न सकेनन् । शून्य नतिजाले विद्यालय व्यवस्थापन, शिक्षण शैली र शिक्षकहरूको उत्तरदायित्वप्रति गम्भीर प्रश्न उठाएको छ ।

सामुदायिक विद्यालयको अवस्था सुधारका लागि बेलडाँडी गाउँपालिकाले अघिल्लो शैक्षिक वर्षमा मात्र १ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो । तर यो लगानीले अपेक्षित सुधार ल्याउन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक पक्ष हो । राज्यको करोडौं लगानी शिक्षामा खन्याउँदा पनि जब विद्यालयको नतिजा ७.३२ प्रतिशतसम्ममा झर्छ, तब यो प्रश्न उठ्न स्वाभाविक हुन्छ “शिक्षा सुधारको नाममा भइरहेका खर्च कहाँ जाँदैछन ?“ तर, लगानीको अनुपातमा नतिजा भने शून्यजस्तै भएपछि स्थानीय सरकार आफैं असन्तुष्ट देखिएको छ ।

अर्कोतर्फ, कुनै सरकारी सहयोग नलिएका निजि विद्यालयहरूको नतिजा भने सराहनीय रहेको छ । गाउँपालिकाभरिका सबै १४ विद्यालयलाई पछि पार्दै सगरमाथा शिक्षा एकेडेमी, झरनासागर ले ९० प्रतिशत विद्यार्थी उतीर्ण गराएर प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै बेलडाँडी ग्लोबल एकेडेमी, बैवाह दोस्रो स्थानमा ६२.५० प्रतिशत, मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल, गौडी तेस्रो स्थानमा ५२.१७ प्रतिशत र कञ्चन ग्यालेक्सी पब्लिक स्कुल, बेलडाँडी चौथो स्थानमा ४१.६७ प्रतिशत उतीर्ण प्रतिशतसहित अगाडि छन् ।

शिक्षकहरूको भूमिका र विद्यालय प्रशासनको जवाफदेहीता जस्ता कमजोरीले गर्दा सामुदायिक विद्यालयहरू निरन्तर पिछडिएका छन् । स्थानीयवासीहरू भन्छन्, “शिक्षकले आफूलाई जिम्मेवार नबनाएसम्म, शिक्षक नै सुधार नभएसम्म, विद्यालयको सुधारको कल्पना गर्न सकिँदैन ।“

शिक्षामा सरकारी लगानीको प्रभाव नदेखिनु र निजि विद्यालयको परिणामले यत्रो अन्तर ल्याउनु, आम नागरिकका लागि सोचनीय विषय बनेको छ।

शिक्षामा देखिएको यो गम्भीर विचलनलाई लिएर अब गम्भीर पुनर्विचारको आवश्यकता देखिएको छ । सार्वजनिक विद्यालयको अस्तित्व जोगाउन सबै पक्ष गम्भीर, उत्तरदायी र पारदर्शी हुनु अत्यावश्यक देखिन्छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरकार  सबैको साझा भूमिकामार्फत मात्रै बेलडाँडीको शिक्षामा उज्यालो ल्याउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित