बझाङ । धुलो लागेको सम्झनाहरू कोतर्न थालेको थिइन् गोमती धामी, जसलाई अहिले सबै ‘हन्तरी’ भनेर चिन्छन्। ६५ वर्षको उमेरमा, जीवनको अन्तिम चौतारीमा उभिएकी गोमती आफ्नो बाल्यकाल बिताएको, धुलोमा लोटिएको, पहाडको त्यो हरियो काख—बझाङ फर्किन लागेकी थिइन्। यो यात्रा सामान्य थिएन, यो यात्रा थियो सम्झनाको, नाताको, र हराइरहेको पहिचानको पुनःखोजको।
गोमतीको बाल्यकाल बझाङको सानो गाउँमा बित्यो। आठ वर्षको उमेरमा आमाबुवासँगै तराईतिर झरिन्—त्यो झर्ने क्रम नेपाली समाजको त्यही पुरानो कथा थियो—”बाँच्नलाई सजिलो कहाँ छ, बाँच्न जहाँ सजिलो लाग्यो त्यहीँ जानुपर्छ।”
बझाङबाट कञ्चनपुरको जिमुवा, मटेना हुँदै बेलडाँडीको बैवाहसम्म पुग्दा, समयले उनलाई आफु जन्मेको गाउँ टाढा पुर्याइदियो। माइती कहाँ हो भन्ने थाहा थियो, तर कुन ठाउँ भन्ने प्रष्ट थाहा थिएन।
गोमतीको जीवन बाँचिरह्यो—श्रम, सन्तान, अनि बेलडाँडीको धुलोसँगै। तर भित्र कतै गाँसिएको थियो पहाडको त्यो आवाज, त्यो बोली, त्यो गाउँको गन्ध। माइती भन्ने शब्दले उनलाई अझै स्पर्श गर्थ्यो—त्यही स्पर्शलाई समातेर उनी एकदिन फर्किने सपना देख्थिन्।
समय फेरियो, टेक्नोलोजी आयो। मोबाइलले छुटेका नाता जोड्न थाले। गोमतीका दिदीका छोरा मंगलसिंह बोहराले, जो तत्कालीन नेपाल प्रहरीमा कार्यरत थिए, आफ्नी सानीआमाको खोजी गरे। वर्षौं अघि छुटेको सम्बन्ध फेरि जोडियो। गोमतीका दाइ पनि भेट्न आए, तर नियतीले धेरै समय साथ दिएन—उनीहरू चाँडै संसारबाट बिदा भए।
त्यसपछि धनगढीको मनहेरा जुगेडा बस्ने दाईको घरतिर सम्बन्ध गासियो त्यहीँबाट पहाडमा बस्ने गोमतीका जेठादाईका छोरा केशवसंग फोनबाट भलाकुसारी हुदैगयो ।
५ वर्ष लाग्यो गोमतीलाई तयारी गर्न। माइती देवताको पूजा गर्ने सोच बनाइन्। सबैजना उत्साहित थिए। अन्ततः २०८२ सालको बैशाखमा तय भयो त्यो क्षण—५७ वर्षपछि गोमती आफ्नो जन्मथलो फर्किन लागिन्। साथमा थिए उनका दुई छोरा—गणेश र विमल ।
बझाङ पुग्दा दृश्य भावुक थियो। गाउँभर हर्षको लहर चल्यो। कसैले उनको नाम मात्रै सुनेका थिए, कसैले बाल्यकालको अनुहार सम्झिएका थिए। “फूपू!” भनेर चिच्याउने भदुहरूले पहिलोपटक देखे आफ्नी हराएकी हन्तरी।
बझाङको मयना गाउँ तर गोमतीका लागि त्यो भूगोल होइन, भावनाले बाँधिएको गाउँ थियो—जहाँ उनी फेरि फूपू बनिन्, छोरी बनिन्, ती सबै सम्बन्धहरू पुनर्जीवित भए।
भोलिपल्ट माइती देवताको पूजाको तयारी थियो। भदु केशु लगायत गाउँलेहरू मिलेर सजाए, साथ दिए। उनका माइतीहरूले उनलाई काखमा राखेझैं पूजा गराए। गाउँलेहरूले भने, “बझाङ्गीहरू ठूला मनका हुन्छन्”—त्यो मनले गोमतीलाई फेरि आफ्नो बनायो।
उनका जेठा छोरा गणेश धामीले भने, “हाम्रो परिवारले पाएको सम्मान ऐतिहासिक थियो। यत्रो समयपछि पनि माया हराएको रहेनछ।”
५७ वर्षपछि फर्किएको त्यो यात्रा केवल गोमतीको थिएन—त्यो थियो सबै नेपालीको कथा, जो जीवनको दौडमा आफ्ना गाउँ, नाता, भाषा र पहिचान गुमाउँछन् तर मनको कतै कुनामा सधैं बाँकी रहन्छ एक दिन फर्किने आशामा।
Discussion about this post