बेलडाँडी, आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि निरन्तर चली आएको सांस्कृतिक परम्परा हो।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध र दूधबाट बनेका परिकार मनपर्ने विश्वास रहेको हुँदा साउनमा खीरजस्ता परिकार अर्पण गरिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारका रूपमा वैदिक शास्त्रमा वर्णित छ। “साउन महिनामा खेतीपातीको काम सकिएर घरगाउँमा समय मिल्ने, गाई–भैंसीले बढी दूध दिने भएकाले दूधको उपयोगस्वरूप खीर बनाएर आफन्त र इष्टमित्रलाई खुवाउने परम्परा बसेको हो,” गौतमले बताए।
खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। दूधमा चामल, चिनी, मसला, सुकुमेल, काजु, बदामलगायत सामग्री मिसाएर पकाइने खीरले साउने झरीमा शरीरलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्छ।
नेपाली समाजमा विभिन्न महिनाका १५ गतेहरू फरक–फरक परिकार बनाएर सांस्कृतिक रूपमा मनाउने परम्परा छ। असार १५ मा दही–च्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ–खट्टे र माघ १५ मा मालपुवा खाएर सामाजिक आत्मीयता प्रकट गर्ने परम्परा जोगिँदै आएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा समेत मनाउँदै आएको छ। दूधजन्य उत्पादनको प्रवर्द्धन र परम्परागत खानपान संस्कृतिको जगेर्नाका लागि यो दिनलाई विशेष रूपमा महत्व दिइएको बोर्डले जनाएको छ। खीर परम्परा मात्र नभई संस्कार, स्वास्थ्य र सामाजिक एकताको सन्देश दिने स्वादिलो माध्यमसमेत हो भन्ने जनविश्वास अझै कायमै छ।





















Discussion about this post