काठमाडौँ । राजधानी नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको जेन जी पुस्ताको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले पानीको फोहरा, अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए । त्यही क्रममा घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले पुष्टि गरेका छन् ।
सिभिल अस्पतालको इमरजेन्सीमा घाइतेहरूले अस्पतालको बेड भरिएका छन् । करिब ७० जना घाइतेमध्ये धेरैजसो विद्यार्थी छन् । उपचार कक्ष बाहिर साथीहरू आँसुमा भिजेर चिन्तामा उभिएका छन् भने केही परिवारजन घाइतेको नाम थाहा पाउन अस्पताल परिसरमै कराउँदै हिँडिरहेका छन् ।
एक घाइतेलाई स्ट्रेचरमा ल्याउँदा साथीसँगै आएका युवाहरूको आँखाबाट नरोकी आँसु बगिरहेको दृश्यले अस्पताललाई शोकाकुल बनाएको छ । आफन्तका चित्कार र साथीहरूको पीडाले घटनास्थल झनै भावुक बनेको छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार संसद् भवन अगाडिको झडपमा प्रदर्शनकारी, पत्रकार र सुरक्षाकर्मी गरी करिब ७० जना घाइते भएका छन् । घाइतेहरूलाई सिभिलसहितका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रदर्शनकारीहरूले मृत्युको घटनालाई लोकतन्त्र र नागरिक अधिकारमाथिको आक्रमण भएको भन्दै आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन् । राजधानीमा सुरक्षा सतर्कता कडा पारिएको छ भने अस्पताल र घटनास्थल दुवै ठाउँमा त्राससँगै आक्रोश देखिएको छ ।




















Discussion about this post