कैलाली,
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानबाट यो वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ। धनगढीको मोहनपुर, टीकापुर, सत्ती, जोशीपुर र भजनीबाट धान खरिद गरिने कम्पनीले जनाएको छ।
उचित मूल्य पाउने आशामा खरिद डिपोसम्म आइपुगेका किसानको धान गुणस्तरको नाममा खाद्यले खरिद गर्न भने आनाकानी गर्दै आएको हो।
कैलालीमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद कार्य सुरु गरेको हो। यो वर्ष कैलालीबाट कम्पनीले ४० हजार क्वीन्टल धान खरिद गर्ने योजना बनायको छ। जिल्लाको धनगढीस्थित मोहनपुर, टीकापुर, सत्ती, भजनी र जोशीपुरमा काटा राखेर धान खरिद गर्ने योजना कम्पनीको छ। खाद्यले किसानबाट मोटो धानको प्रति क्वीन्टल २ हजार ९ सय ७६ रुपैयाँ मुल्य कायम गरेर धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन्।
‘हामीले धान खरदि गर्न थालेको तीन दिन भएको छ,’ उनले भनिन्, ‘धनगढी, टीकापुरमा खरिद सुरु भएको छ भने सत्ती, भजनी र जोशीपुरमा एक दुई दिनभित्रै काटा लगाउँदै छौँ।’ कम्पनीले धान खरिद सुरु गरे पनि किसानले भने सहज रुपमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन्।
कम्पनीका अधिकारीहरूले धान खरिद गर्न नचाहेको किसानहरूको गुनासो छ। टाढा–टाढाबाट गाडामा राखेर धान बिक्री गर्न ल्याए पनि धानमा तोकिएको मापदण्ड नपुगेको भन्दै किसानहरूलाई फिर्ता पठाउने काम भइरहेको छ। यसरी किसानलाई फिर्ता पठाएर निरुत्साहित गर्दै बाहिर कम मूल्यमा धान बेच्न बाध्य पार्न खोजिएको भन्दै किसानहरूले गुनासो पोखेका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका किसान जालुराम चौधरीले मान्छे हेरीहेरी फरक व्यवहार भइरहेको गुनासो सुनाएछन। ‘यहाँ मान्छे हेरेर फरक–फरक व्यबहार भइरहेको छ,’ उनले भने, ‘अलिकता धानमा केही देख्यो भने यो फोहर छ भनिहाल्छ। मिलमा बाध्य भएर सस्तोमा बेच्न परेको छ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटो धानको प्रति क्वीन्टल २ हजार ९ सय ७६ रुपैयाँ खरिद गरे पनि बाहिरका मिलहरूले भने प्रति क्वीन्टल बढीमा २ हजार ५ सय मूल्य दिइरहेका छन्। खाद्यले तोकेको मूल्यमा बिक्री गर्दा लागत उठ्ने भए पनि बाहिर बिक्री गर्दा भने लागत नै नउठ्ने किसानहरुको भनाइ छ। तर खाद्यले भने तोकिएको गुणस्तर नभएको धान मात्रै खरिद गर्न नसकेको दाबी गरेको छ। मापदण्ड पुगेको कुनै पनि किसानको धान फिर्ता नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख एन्जिला बस्नेतको जिकिर छ।
‘हामी गुणस्तरीय धान मात्रै किन्छौँ। गुणस्तरको मापदण्ड पनि छ। आज तीन दिनमा ३ हजार बढी क्वीन्टल धान खरिद भइसकेको छ,’ उनले भने, ‘किसानहरुले धान सफा गरेर ल्याउनु भो भने खरिद नगर्ने त कुरै भएन।’
धनगढीको मोहनपुर डिपोमा पुगेका किसानहरूले खाद्यले सबै धान खरिद गर्न नमानेर दुःख दिन खोजेको बताएका छन्। राम्ररी छानेर, सुकाएर बिक्री गर्न ल्याएको धान समेत खरिद गर्न नमान्दा बाध्य भएर व्यापारीहरूलाई कम मूल्यमा बिक्री गर्नु परेको किसानको गुनासो छ।
Discussion about this post