को हुन सुदूरपश्चिमका मुख्यमन्त्री रावल, यस्तो छ राजनीतिक यात्रा

महेन्द्रनगर,

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

उनलाई प्रदेश सभाका २९ सांसदको समर्थन छ । नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका १ सहिक कूल २९ सांसदको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका हुन् ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको आवश्यक पर्दछ । उनी कञ्चनपुरबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणको कार्यक्रम राखेको छ ।

एमाले सुदूरपश्चिममा बौद्धिक र अध्ययनशील नेताको रुपमा चिनिन्छन्, राजेन्द्रसिंह रावल। उनी वि.सं. २०२१ जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाँउमा जन्मिए । बुवा दानसिंह रावल भारतीय सेनामा जागिरे थिए। बुवासंग भारतमा रहेका उनले त्यहीँ शिक्षा आर्जन गर्ने मौका पाए ।

आधारभूत तहसम्मको अध्ययन रावलले भारतको मेघालयको सिलङ, मध्य प्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयमा लिएका थिए । उनले एसएलसी भने बैतडीको वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकबाट उर्तिण गरेका थिए । उनले भारतको उत्तरप्रदेशस्थित ड्रमाण्ड इन्टर कलेज पिलिभितबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरे ।

कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट रावलले स्नातक तह उर्तिण गरेका थिए। लोक साहित्य, कला, संस्कृति र इतिहासका अध्येता रावल नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारु लगायत भाषामा दख्खल राख्दछन् ।

वि.सं. २०३६ सालको जनमत संग्रहको आन्दोलनमा सहभागी भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए, उनले । त्यसपछि २०३९ मा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा उनी संगठित भएका थिए। उनी कञ्चनपुर र बैतडीमा गरेर करिब एक दशक शिक्षण पेशामा पनि आवद्ध रहेका थिए । वि.सं. २०४२ सालमा उनले बैतडीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनको नेतृत्व गरेका थिए । त्यसक्रममा उनी पक्राउ समेत परेका थिए ।

वि.सं. २०४५ सालमा माक्सवादी अध्ययन दल, कञ्चनपुरको सदस्य बनेका रावल भीमदत्त नगर कमिटी सदस्य समेत थिए। त्यस क्रममा उनले भूमिगत भएर समेत काम गरे। ‘आरआर सिंह, राजु र रत्नबन्धु’ लगायत नामले रावल त्यसबेला प्रख्यात थिए ।

वि.सं.२०४६ सालमा उनी प्रेम सिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम कञ्चनपुर जिल्ला संगठन कमिटी सदस्य बने। वि.सं. २०४७ सालमा अनेरास्ववियुको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी ०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको प्रतिनिधि रहेका थिए । ०४८ सालमै अनेरास्ववियु पाचौँ राष्ट्रिय परिषद् सदस्य बनेका रावलले बैतडीमा इन्चार्जको जिम्मेवारी पनि सम्हाले । ०४९ सालमा महाकाली सन्धी विरुद्धको आन्दोलनका क्रममा उनी जेल परेका थिए ।

०५० सालमा रावलले महाकाली सन्धी विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । त्यस बेला तत्कालीन सत्ता पक्षबाट गिरफ्तार सहित सार्वजनिक मुद्धा पनि उनले खेपे। ०५१ मा नेकपा (एमाले) को कञ्चनपुर संगठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भएका उनले तत्कालीन महाकाली अञ्चलका चारै जिल्लामा अभियान सञ्चालन गरेको थिए ।

वि.सं. २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति रहेका थिए, रावल ०५४ मा नेकपा एमाले कञ्चनपुरको उपसचिव बनेका उनी ०५७ देखि ०६२ सम्म दुई कार्यकाल सचिव रहे ।

०५८ मा तत्कालीन जिल्ला विकास समितिको आवधिक योजना सह–संयोजक बनेका रावल सामुदायिक वन उपभोक्ता समूह कञ्चनपुरका संस्थापक समेत हुन । २०६२/०६३ को जनआन्दोलनको क्रममा कञ्चनपुरमा नेतृत्वदायी भूमिका रहेका उनी पटक/पटक पक्राउ परेका थिए।

०६२ नेकपा (एमाले) को महाकाली अञ्चल समन्वय कमिटीको सचिव बनेका थिए, उनी। २०७५ जेठ ३ मा उनी माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको केन्द्रीय कमिटी सदस्य रहेका थिए । २०७८ सालमा नेकपा (एमाले) को केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिव तथा डडेल्धुरा इन्चार्ज रहे । अहिले रावल नेकपा एमालेको पोलिट्व्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्जको जिम्मेवारीमा छन् ।

यसपटकको चुनावमा समानुपातिक कोटाबाट सुदूरपश्चिम प्रदेश सांसद निर्वाचित भएका रावल नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका थिए ।

विभिन्न सम्मेलन तथा कार्यक्रममा सहभागी भएर भारत, चीन लगायत देशको उनले भ्रमण गरेका छन्। राजनीतिमा मात्रै होइन, उनको खेलकुल, लोक साहित्य, कला, संस्कृति र इतिहासका क्षेत्रमा पनि योगदान छ ।

क्रिकेट खेल खेल्न रुचाउने उनी मध्य गतिमा बलरका रुपमा चिनिन्छन् । मध्यकालीन डोटीको इतिहास (साके १२३५–१७१२) र द इकोज पावर अफ प्यासन (कविता संग्रह) उनका प्रकाशित कृति हुन ।

विकल्प दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित