७ सय ५३ स्थानीय तहको चुनावले प्रदेश र संघको परिणामलाई पनि असर गर्ने भएकाले दलहरु बर्चस्व जोगाउने कसरतमा लागेका हुन्।
६ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडामा हुने चुनाव दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ।
एकै चरणमा हुन लागेको निर्वाचनमा भाग लिन ८० दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। यसअघि २०७४ वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा भएको निर्वाचनमा ५७ वटा दलले भाग लिएका थिए।
पाँच वर्षअघि स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए। तर, एक करोड चार लाख ८९ हजार २०४ ले मात्र मतदानमा भाग लिए। त्यसबेला निर्वाचन आयोगमा निवेदन दिएका ८० दलमध्ये ५७ दलले मात्र भाग लिएको निर्वाचन आयोगले जनाएको छ।
कुन दलको अवस्था कस्तो ?
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपाले मात्र सम्मानजनक परिणाम ल्याए।
माओवादी केन्द्र र कांग्रेसबीच केही स्थानीय तहमा तालमेल हुनुबाहेक चारवटै दल एक्ला एक्लै चुनावमा भिडेका थिए। त्यसबेला एमाले झण्डै ३ सय स्थानीय तहको प्रमुख जितेर पहिलो दल बनेको थियो।
कांग्रेसले २ महानगर, २ उपमहानगर सहित २ सय ७४ स्थानीय तहको प्रमुख जितेको थियो। एक महानगर सहित ३४ नगरपालिका, ७२ गाउँपालिका अध्यक्ष सहित १०६ स्थानीय तहको प्रमुख जितेर माओवादी केन्द्र तेस्रो स्थानमा थियो।
गठबन्धनमा रहेको जसपा (उतिबेलाको संघीय समाजवादी फोरम)ले १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्ष सहित ३४ स्थानीय तहमा प्रमुख जितेर चौथो दल बनेको थियो।
एमाले
२०७४ मा काठमाडौं र पोखरा गरी दुई महानगरपालिका, ७ उपमहानगरपालिकासहित १२३ नगरपालिका र १७१ गाउँपालिकाको अध्यक्ष एमालेले जितेको थियो। मुस्ताङको एक र डोल्पाका २ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर जितेकाहरू पनि एमाले प्रवेश गरेका थिए।
एक महानगरपालिका र ७ उपमहानगरपालिका सहित १३७ नगरपालिकाको उपप्रमुख र १९४ गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी भएको थियो।
२०७४ मा एमालेले प्रमुख भन्दा ३७ बढी उपप्रमुख जितेको थियो। २५६० वडामा वडाध्यक्ष जितेको एमालेले २७७६ महिला सदस्य, २६८० दलित महिला सदस्य र ५४५८ खुला वडा सदस्यसहित १४ हजार ९८ जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको थियो।
एमालेले बागमती प्रदेशको सिन्धुलीमा ३, रामेछापमा ५, दोलखामा ७, सिन्धुपाल्चोकमा ७, काभ्रेमा ७, रसुवामा २, नुवाकोटमा ३, धादिङमा ८ र मकवानपुरमा ६ स्थानीय तह जितेको थियो।
काठमाडौंमा एमालेले महानगरको मेयर सहित ११ मध्ये ७ स्थानीय तह जितेको थियो।
भक्तपुरमा समेत चारमध्ये ३ नगरपालिका जितेको एमालेले ललितपुरमा महांकाल गाउँपालिका र महालक्ष्मी नगरपालिका जितेको थियो।
कांग्रेस
२०७४ को स्थानीय चुनावमा कांग्रेसले विराटनगर र ललितपुर महानगर, २ उपमहानगरसहित १०५ नगरपालिकाको प्रमुख र १६१ गाउँपालिका अध्यक्ष जितेको थियो। ८४ नगरपालिकाको उपप्रमुख जितेको कांग्रेसले १६१ उपाध्यक्ष जितेको थियो।
कांग्रेसले २२८६ वडाध्यक्ष, २१५७ दलित महिला सदस्य, २१०१ महिला सदस्य र ४४२३ खुला सदस्य जितेको थियो। स्थानीय तहका कुल ३५ हजार ४१ पदमध्ये कांग्रेसले ११ हजार ४५७ उम्मेदवार विजयी गराएको थियो।
माओवादी केन्द्र
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा साढे १५ प्रतिशत उम्मेदवार जिताएको थियो। चितवनको भरतपुर महानगरपालिकासहित माओवादी केन्द्रले ३४ नगरपालिकाको प्रमुख र ७२ गाउँपालिका अध्यक्ष सहित १०६ स्थानीय तह जितेको थियो।
भरतपुरमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन थियो। प्रमुखमा रेनु दाहाल विजयी भएकी थिइन। ४३ नगरपालिकामा उपप्रमुख र ६८ गाउँपालिकामा उपाध्यक्षसहित माओवादी केन्द्र १११ स्थानीय तहमा उपप्रमुख जित्न सफल भएको थियो।
माओवादीले ११०३ वडा जितेको थियो। १०३५ महिला सदस्य, १०३० दलित महिला र २०५६ खुला सदस्य गरी कुल ५ हजार ४४१ उम्मेदवार माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
जसपा
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले (अहिलेको जसपा) १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्ष सहित ३४ स्थानीय तहको प्रमुख जितेको थियो।
६ नगरपालिकामा उपप्रमुख र २६ गाउँपालिकामा उपाध्यक्ष सहित ३२ स्थानीय तहमा उपप्रमुख जितेको जसपाले वडाध्यक्ष २६२, महिला सदस्य २९०, दलित महिला सदस्य २८१ र खुला सदस्य ५४० सहित कुल १ हजार ४३९ जना जनप्रतिनिधि जिताउन सफल भएको थियो।
२०७४ को निर्वाचनमा पाँचौ शक्ति बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ। राजपामा रहेका कतिपय नेता उपेन्द्र यादव नेतृत्वको जसपामै छन्।
साउन ९ गते जसपा विभाजन गरेर महन्थ ठाकुरले लोसपा पार्टी गठन गरेका हुन्। त्यसबेला पनि ठाकुर नेतृत्वमै रहेको राजपाले वैशाख ३१ र असार १४ गतेको पहिलो र दोस्रो चरणको स्थानीय तह चुनाव बहिष्कार गरेको थियो।
तर, असोज २ गते भएको निर्वाचनमा भाग लिएको तत्कालीन राजपाले १४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष सहित २५ स्थानीय तहको प्रमुख जितेको थियो।
१७ नगरपालिकामा उपमेयर, १३ गाउँपालिका उपाध्यक्ष सहित ३० स्थानीय तहमा उपप्रमुख जित्दा वडाध्यक्ष १९४, महिला सदस्य २११, दलित महिला सदस्य २१४ र खुला सदस्य ४३७ सहित राजपाले कुल ११११ जनालाई जनप्रतिनिधि बनाउन सफल भएको थियो।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले १ नगरपालिका प्रमुख र ४ गाउँपालिका अध्यक्ष सहित ६ स्थानीय तह जितेको थियो। अहिले गच्छदार नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। उनी कांग्रेसको चौधौं महाधिवेशनमा उपसभापति पदमा पराजित भएका हुन्।
कमल थापा नेतृत्वको तत्कालीन राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका प्रमुख र तीन गाउँपालिका अध्यक्ष सहित ४ स्थानीय तह जितेको थियो।
नेपाली जनता दलले एक नगरपालिका र एक गाउँपालिका सहित २ स्थानीय तहको प्रमुख जित्दा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले सप्तरीको छिन्नमस्ता गाउँपालिका र रसुवाको पार्वतीकुण्ड गाउँपालिका प्रमुख जितेको थियो।
यस्तै राष्ट्रिय जनमाेर्चाले लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लाकाे झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकाकाे प्रमुख उपप्रमुख तथा गण्डकी प्रदेशमा पर्ने बागलुङकाे बरेङ गाउँपालिकाकाे प्रमुख र उपप्रमुख जितेकाे थियाे भने गुल्मीको कालीगण्डकी गाउँपालिकामा एक जना उपप्रमुख जितेको थियो।
विभिन्न जिल्लामा गरी ३४ वडाअध्यक्ष जितेको जनमोर्चाले जम्मा १८७ जनप्रतिनिधि निर्वाचित गरेको थियो।
नेपाल मजदूर किसान पार्टीले भक्तपुर नगरपालिका जितेको थियो। ४ स्थान स्वतन्त्र उम्मेदवारले जितेका थिए।
निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
अहिलेको अवस्था
नेपाली कांग्रेसबाहेक अहिले सबै दलभित्र समस्या छ। एमाले, जसपा र राप्रपा विभाजित छन्। अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीले माओवादी केन्द्रमै नेताहरु असन्तुष्ट छन्।
एमालेबाट विभाजन भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले २०७९ वैशाख ३१ गते हुन लागेको निर्वाचनमा भाग लिँदैछ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन कायम राखेर जाने सहमति भएको बताए।
एकीकृत समाजवादीका कारण पहिले जितेका धेरै स्थान गुम्ने चिन्तामा एमाले छ। दल विभाजन गर्दा १० प्रतिशत जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमसीसी पास गरेपछि केही असन्तुष्ट छन्।
एमालेबाट केही जनप्रतिनिधि कांग्रेस प्रवेश गरेका छन्। सिन्धुपाल्चोक र मधेश प्रदेशका केही जनप्रतिनिधिले एमाले छोडेका छन्। उनीहरु कांग्रेस र माओवादी केन्द्र प्रवेश गरिसकेका छन्।
एमसीसी अनुमोदन गरेपछि माओवादी केन्द्रका मोरङ रंगेली नगरपालिका मेयर एमाले प्रवेश गरे। नेकपा भंग गर्ने सर्वाेच्च अदालतको फागुन ११ को फैसलापछि माओवादी केन्द्रमा नलागी एमालेमै बसेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र प्रभु साहका कारण माओवादीका केही स्थानीय तह गुमाउने निश्चित छ। माओवादी केन्द्रको आक्रामक चुनावी एजेन्डा पनि छैन।
जसपा विभाजन भएको छ। अघिल्लो चुनावमा फरकफरक दलबाटै चुनाव लडेकाले अबको चुनावमा उपेन्द्र यादवले पहिलाको भन्दा थप केही स्थानीय तह जित्ने सम्भावना रहेको नेताहरु दाबी गर्छन्।
राजपाबाट जसपा बनाएर फेरि लोसपा गठन गरेका महन्थ ठाकुरलाई यो पटक अप्ठेरो पर्ने देखिन्छ। उनले एमालेसँग चुनावी तालमेल गर्ने बताएका छन्। मधेश प्रदेशमा यो पटक बढी प्रतिस्पर्धा हुने देखिन्छ।
Discussion about this post