बेलडाँडी,
एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरेर रकम नपाएको पीडा झेलेका कञ्चनपुर उखु किसान दुई दुई उखु मिलको फाईदा लिदै समृद्ध बन्दै गएका छन् ।
कञ्चनपुरका पहिलेका उखु किसानहरु जोखिम मोल्दै भारतीय ब्यापारीलाई उखु दिन बाध्य हुने थिए तर उखुको पैसा आउने नआउने भगवान भरोसा बस्नुपर्ने बाध्यता दुई दुई उखु मिल सञ्चालन भए देखि त्यो समस्या टरेर गएको छ ।
पुनर्वास नगरपालिका वडा नं.९ का संजिब चौधरीका अनुसार ‘१५ बर्ष अगाडी पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्पर्क विहीन बने’ उनले भने, ‘विगतको भन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।’ चौधरी जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् ।
यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पु–याउन भ्याइनभ्याइ छ । ‘पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौ’ ‘अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेती प्रति आकर्षित भएका छन् ।’
कञ्चनपुरको बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ ।
चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलडाँडी गाउँपालिका–२ चवन्नीका डम्मर शाहले बताए । उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य समयमै पाइरहेको बताए ।
‘पहिले रु. १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो’ शाहले भने, ‘अहिले प्रतिक्विन्टल रु. साढे चार, पाँच सयमा बिक्री हुँदैछ ।’ उनले दुई/तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको संख्यामा वृद्धि भइरहेको बताए ।
‘अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।’
‘विगतमा मिलसम्म उखु पु¥याए पनि वर्षाैसम्म मूल्य नपाएर चित्त बुझायौ’ उनले भने, ‘सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए/नपाएका बारेमा नियमन गर्नुपर्छ ।
मिल संचालकहरूका अनुसार मिललाई प्रयाप्त मात्रामा उखु नपुगेको बताउछन् । २५/३० लाख क्वीन्टलमा चित्त बुझाउनु परेको उनीहरू बताउछन् । किसान समृद्धका लागि दुबै मिलले विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेका छन् ।
Discussion about this post