बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले अहिले विद्यालयहरुले अभिभावकबाट आर्थिक सहयोगको नाममा लिन थालेको भर्ना शुल्क निशुल्क गर्ने बताएका छन् ।
पालिकाका सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट भर्ना शुल्क लिने गरेका छन् । भर्नाको समयावधिमा सामुदायिक विद्यालयले भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावकबाट गुनासो आएपछि सोमवार अनुगमन गर्दै भर्ना प्रकृया निशुल्क गर्ने बताएका हुन ।
पालिका अध्यक्ष रानाले सोमवार पालिका भित्रका सामुदायिक बिद्यालयको अनुगमन गर्दै उक्त कुरा बताएका हुन् । उनले पालिका भित्रका सामुदायिक केहि विद्यालयहरुले विभिन्न कारण देखाउदै भर्ना शुल्क लिने गरेको बताउदै भर्ना शुल्क बराबर उठ्ने रकम पालिकाले बेर्होरेर अभिभावकहरुलाई सजिलो पार्न सकिने बताए ।
यति बेला देशमा आर्थिक संकट चलेका बेला कक्षा अनुसारको शुल्क लिने गरेको प्रति आफ्नो ध्यानार्कषण भएको जनाउदै यो समस्या तुरुन्तै समाधान गर्ने जनाउनु भयो ।
उहाँका अनुसार भर्ना शुल्कको विषयमा टिकाटिप्णी हुनथालेपछि भर्ना भइसकेकाहरुको शुल्क तुरुन्त फिर्ता गर्न लगाउने जनाए । तुरुन्त स्थानीय शिक्षा कार्यविधि बनाउने र बेलडाँडी पालिका भरिका विद्यालयहरूलाई गुणस्तरिय शिक्षा प्रदायक संस्थाका रुपमा विकास गर्न सकिने बताए ।
विद्यालयले खेलकुद, अतिरिक्त, प्रयोगशाला, मर्मतसम्भार तथा विविध शुल्क लिन पाउने व्यवस्था शिक्षा ऐनमा भए पनि भर्ना शुल्क लिन नपाउने व्यवस्था शिक्षा ऐनले नै गरेको छ । तर यस वर्ष पनि शैक्षिक शत्र सुरु भएसँगै बेलडाँडीका सामुदायिक विद्यालयले विविध समस्या देखाउँदै विद्यार्थीबाट शुल्क असुलेको पाइएको हो ।
नेपाल सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको नीति ल्याए पनि अझै कार्यान्वयन हुन सकेको छैन । बेलडाँडीका अधिकांश सामुदायिक विद्यालयले कक्षा १ देखि १० सम्म विभिन्न शीर्षकमा भर्ना शुल्क लिने गरेको अभिभावकले गुनासो गरेका छन् ।
विद्यालयको शैक्षिक सुधारका लागि निजी स्रोतबाट शिक्षक नियुक्त गरेको र विद्यालयको आय स्रोत केही पनि नहुँदा विध्यार्थीबाट भर्ना शुल्क लिनु परेको विद्यालयहरुले जनाउदै आएका छन् ।
विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नभएका कारण निजीस्रोतबाट शिक्षक राख्नुपर्ने बाध्यता भएको र शिक्षकको पारिश्रमिक दिनका लागि विद्यालयले भर्ना अवधिमा सहयोग रकम उठाउने गरेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीले जानकारी गराउनु भयो । विद्यालयको आर्थिक अवस्था हेरेर ऐनमा व्यवस्था भएबमोजिम शुल्क लिँदा अभिभावकको बुझाई फरक परेको हुनसक्ने उनको भनाइ छ ।
Discussion about this post