कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र चौधर नदीमा विपद् पुर्व तयारी अभ्यास गरिएको छ । बेलडाँडी गाँउपालिका ५ झिलमिला चौधर नदीमा विपद् जोखिम पुर्व अभ्यास गरिएको हो ।
चुरेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी गाँउपालिका ५ ईमलिया, झिलमिला भएर महाकाली नदीमा मिसिने चौधर नदीको उच्च जोखिम क्षेत्रमा मंगलबार अभ्यास गरिएको छ । बेलडाँडी गाँउपालिका, निड्स नेपालले सयुक्त रुपमा विपद् आएका बेला संकटमा परेका समुदायको उद्दार गराउने उदेश्यका साथ अभ्यास गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश कार्यालयका बन्दोबस्त अधिकृत लक्ष्मण भट्टले कृतिम अभ्यासको निर्देशन गरेका थिए । नमुना अभ्यासमा समुदाय सहित नेपाल प्रहरीको सुदूरपश्चिम विपद् व्यवस्थापन गणका प्रहरीले अभ्यास गरेका थिए ।
निड्स नेपालका परियोजना सयोजक ईश्वर उपाध्यायले विपद्का बेला मानिस सहित अन्न धनधनभौतिक सम्पतीको उद्दार र संरक्षणका लागि समुदायलाई अग्रसरता गराएको बताए । ‘गाँउबस्तीमा विपद् जोखिम बढ्दा शुरुमै समुदाय नै जिम्मेबार बनाउनुपर्ने देखिन्छ, ‘उनले भने, ‘राज्यका निकाय जोखिम भएको स्थानमा पुग्दासम्म समय लाग्ने र उतिबेलासम्म समुदाय स्तरबाटै उद्दार कार्य गर्ने गराउने समुदायकै व्यक्ति सरिक हुनपर्ने हुन्छ ।’
स्थानीयले समेत नमुना अभ्यासबाट विपद्का बेला जोखिममा परेका मानिसको खोज तथा उद्दार कार्य कसरी गर्ने भन्ने बारेमा सिकाई भएको बताए । झिलमिलाका स्थानीय हिरासिह कार्कीले विगतमा विपद् जोखिमा परेका समुदायको उद्दारका लागि परम्परागतशैली अपनाउँदै गएकोमा अहिले समुदाय स्तरमा उपलब्ध स्रोत साधन लगेर उद्दार गर्न जानकारी पाएको बताए ।
अर्की स्थानीय रबिना विकले नमुना अभ्यासबाट विपद् वाढीका बेला फसेका समुदायको उद्दार कार्य गर्ने तरिका सिकिएको बताईन ।
बेलडाँडी गाँउपालिका ५का वडाध्यक्ष ईन्द्र खडकाले चौधर नदीले ईमलिया र झिलमिलामा सबैभन्दा बढि जोखिम बढाएको बताए । ‘बर्षात भएपछी यहाँका जनता ढुक्क भएर सुत्दैनन, ‘उनले भने, ‘०६५सालमा नदी गाँउ पसेको थियो, अहिले पनि जनतामा त्रास नै छ ।’ जोखिमका बेला शुरुमै समुदाय नै जिम्मेबार हुने भएकाले कृतिक अभ्यास प्रभावकारी भएको बताए ।
निड्स नेपालका प्रशासन प्रमुख प्रयागराज रेग्मीले आउँदै गरेको वाढि, कटानी विपद जोखिमबाट बाँच्नका लागि निड्स नेपालले चौधर सहित समुदाय केन्द्रीत गरेर दोदा जोगबुढा, महाकाली नदी समुदाय स्तरमा अभ्यास गरिएको बताए । ‘हामीले जोखिमयुक्त समुदायलाई अग्रसर गराउने हो, ‘उनले भने, ‘अहिलेको अभ्यास विपद्का बेला काम लाग्छ, त्यसका लागि समुदाय जिम्मेबार हुनुपर्छ ।’
बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले बेलडाँडी विपद्को जोखिममा रहेको बताउदै विपद्का बेला महिला, बालबालिका, त्यसमा पनि गर्भवती, सुत्केरी महिला बढि जोखिममा पर्दै आएको बताए । उनीहरुको उद्दारका लागि पालिका स्तरबाट सक्दो पहल गर्ने बताईन ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीमा विपद् जोखिम न्यूनिकरणका लागि अल्पकालिन तथा दिर्घकालिन योजना अघि सारेर कामकाज अघि बढाउने बताए । ‘विपद्मा परेका समुदायको खोज तथा उद्दारका लागि समुदाय नै जिम्मेबार बनाउनेदेखि जोखिम क्षेत्रका प्रतिरक्षात्मक कार्यक्तम संचालन गछौँ, ‘उनले भने, ‘चौधर नदी गाँउपस्न नदिन तटबन्ध लगायतका कार्यक्रम अघि बढाउँछौँ ।’
बेलडाँडीमा चौधर, झर्नाखोला र निकुञ्जबाट आउने पानीका कारण डुवान, कटान हुँदै आएको छ । स्थानीयले चौधर नदी विच जंगलबाटै डाईभर्सन गर्नुपर्ने र झर्नाखोलाको हेडटु टेल तटबन्ध निर्माणको माग सार्दै आएका छन । सरकारी निकायबाट कनिका छरेजस्तै तटबन्ध निर्माण हुँदा एक ठाँउमा निर्माण गर्दा अर्कोमा भत्किने समस्या निम्तिरहेको छ ।
Discussion about this post