रमाना बुझेर हाजिर नभएपछि गणेश माविमा संकट : ६ महिनादेखि गणित पढाइ ठप्प

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलान कार्यान्वयनमा ढिलाइ र अवज्ञाका कारण गणेश माध्यमिक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन पूर्ण रूपमा प्रभावित बनेको छ।

वडा नं. ५ भुर्षा मोहनपुरस्थित उक्त विद्यालयमा दरबन्दी मिलानका क्रममा रमाना बुझेका शिक्षक विद्यालयमा हाजिर नभएपछि कक्षाकोठा नै सुनसान बनेको हो । गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं. २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित केही शिक्षकहरूको आन्तरिक दरबन्दी मिलान गरेको थियो।

दरबन्दी मिलानअनुसार रमाना बुझिसकेपछि पनि सम्बन्धित शिक्षक उपाध्याय ६ महिनादेखि नयाँ कार्यस्थलमा हाजिर नभएको विद्यालय स्रोतले जनाएको छ। लामो समयदेखि शिक्षण पेशामा संलग्न शिक्षकबाटै यस्तो लापरवाही देखिँदा विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ।

उपाध्याय पक्षले भने गणित विषयको स्थायी दरबन्दी नै नभएको गणेश माध्यमिक विद्यालयमा राहत दरबन्दीमार्फत गरिएको मिलानप्रति असन्तुष्टि जनाउँदै आएको जनाए। वि.सं. २०७६ देखि रौलेश्वर माध्यमिक विद्यालयमा गणित शिक्षक तथा प्रधानाध्यापक रहेका उपाध्यायले गणेश माध्यमिक विद्यालय भुर्षा मोहनपुरका लागि रमाना बुझिसकेपछि सोही निर्णयविरुद्ध एकाएक प्रशासकीय अदालतमा निवेदन दर्ता गरेका थिए।

अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०८२, शिक्षा नियमावली, २०५९, शिक्षक सरुवा निर्देशिका, २०८१ तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ विपरीत पदस्थापन गरिएको ठहर गरेको बताइएको छ।

उपाध्यायको ठाउँमा दरबन्दी मिलानमार्फत सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारी हाल कार्यरत छन्। गाउँपालिकाका अनुसार, निर्णयको अवज्ञा गर्ने भए पनि उपाध्यायले आफूमातहतका अन्य शिक्षकलाई भने सोही निर्णयअनुसार रमाना दिने र हाजिर गराउने कार्य गरेकाले समस्या अझ जटिल बनेको हो।

हाल गणेश माध्यमिक विद्यालयमा गणित शिक्षकको अभावले विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परेको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल समाधान निकाल्न कठिन भएको गाउँपालिकाले जनाएको छ।

यता, रमाना बुझिसकेपछि पनि उपाध्याय रौलेश्वर माध्यमिक विद्यालय मै उपस्थित हुने तर पठनपाठन नगर्ने गरेको विद्यालयले जनाएको छ। विद्यालय प्रशासनका अनुसार, उनलाई नयाँ कार्यस्थलमा हाजिर हुन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता हुँदै आएको जनाए।

तलबको विषयमा समेत अन्योल देखिएको छ। गाउँपालिकाले कुन आधारमा तलब उपलब्ध गराउने भन्ने टुङ्गो नलाग्दा उपाध्यायले विगत ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। शिक्षा शाखा प्रमुख भुनभक्त जोशीका अनुसार फागुनसम्मको तलब निकासा गर्ने तयारी भइरहेको जनाए।

समग्रमा, रमाना बुझेर पनि कार्यस्थलमा हाजिर नहुँदा उत्पन्न भएको यो समस्या अहिले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित