कैलालीमा जित्ने संसद छिरे, हार्ने आरोप-प्रत्यारोपमै अल्झिए

धनगढी । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचन (फागुन २१) सम्पन्न भएसँगै पराजित उम्मेदवारहरूबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आले ले आफूले चुनावका क्रममा कसैलाई पनि पैसा नबाँडेको स्पष्ट पारेका छन्।

आलेले नेपाली काँग्रेस का उम्मेदवार नरनारायण शाह (मनु) ले लगाएको आरोप निराधार र तथ्यहीन भएको दाबी गरे। यसअघि शाहले कांग्रेसकै ५७ जना नेता-कार्यकर्ताले आलेसँग रकम लिएको सूची आफूलाई प्राप्त भएको बताएका थिए।

“जो चुनावमा तेस्रो स्थानमा आउनुभयो, उहाँले मलाई नै सूची दिनुभयो,” भन्दै शाहले सार्वजनिक अभिव्यक्तिमा आरोप लगाएका थिए। उनले उक्त सूचीमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको समेत दाबी गरेका छन्। तर, अहिलेसम्म नाम भने सार्वजनिक गरिएको छैन।

यसैबीच, आलेले भने आफूले कुनै सूची नदिएको स्पष्ट पार्दै आरोपलाई ‘गलत प्रचार’को संज्ञा दिएका छन्। “म डोटी बाट चुनाव लड्दै आएको व्यक्ति हुँ, कैलालीमा पहिलोपटक उम्मेदवारी दिएको हुँ। ५७ जना काँग्रेसका कार्यकर्ता चिन्ने कुरा नै हुँदैन,” उनले भने, “यदि मैले सूची दिएको प्रमाण छ भने सार्वजनिक गर्न चुनौती दिन्छु।”

आलेनिकट स्रोतका अनुसार, निर्वाचनपछि आले र शाहबीच सामान्य राजनीतिक संवाद भने भएको थियो। सो क्रममा आन्तरिक मतभेदका कारण अपेक्षित सहयोग नपाएको गुनासो दुवै पक्षबाट व्यक्त भएको बताइएको छ।

निर्वाचन परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका थिए। शाह ११ हजार ९५८ मतसहित दोस्रो स्थानमा रहँदा आले ७ हजार ८७६ मतसहित तेस्रो स्थानमा सीमित भए।

चुनाव जित्ने उम्मेदवार अगाडि बढिसकेका छन् भने पराजित पक्षबीच आरोप-प्रत्यारोपको श्रृंखला भने अझै जारी छ। यसले स्थानीय राजनीतिक वातावरणलाई थप तातो बनाएको छ र परिणामपछिको राजनीतिक ध्रुवीकरण स्पष्ट रूपमा देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित