थरिन्दुको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएल फाइनलमा

काठमाडौं । थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोएल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोमाञ्चक बनेको खेलमा सुदूरपश्चिमलाई जित दिलाउन श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके नायक बने । उनले अविजित ५३ रन बनाउनुका साथै बलिङमा २ विकेटसमेत लिए ।

एक समय दबाबमा परेको सुदूरपश्चिमका लागि थरिन्दुले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितको लक्ष्यसम्म पुर्‍याए । उनले ४२ बलमा ७ चौका प्रहार गरे । निर्णायक क्षणमा विजयी चौका प्रहार गर्दै उनले सुदूरपश्चिमको फाइनल यात्रा सुनिश्चित गरे ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले आक्रामक सुरुवात गर्दै १३ बलमा २ छक्का र १ चौकाको मद्दतमा २३ रन बनाए । तर अर्का ओपनर जर्ज मन्से ८ रनमै आउट भए । त्यसपछि स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५ रनमा ४ विकेट गुमाएर दबाबमा परेको थियो ।

त्यसपछि थरिन्दुले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ३१ रन र आरिफ शेखसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे । दीपेन्द्रले १५ र आरिफले १० रन बनाए । अन्य ब्याटरले अपेक्षित योगदान दिन नसके पनि थरिन्दुले एक छेउ सम्हाल्दै टोलीलाई जित दिलाए ।

बलिङतर्फ चितवनका रन्जित कुमारले २ विकेट लिए भने कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । चितवनका लागि डाविन मालानले सर्वाधिक अविजित ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

चितवनका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३ तथा उसामा मिर २ रनमा आउट भए । सलाउद्दिन खानले १८ र कमलसिंह ऐरीले १० रन जोडे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट लिए । त्यस्तै हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट हात पारे ।

यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाएको थियो । त्यस अवसरलाई सदुपयोग गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अब उपाधिका लागि सुदूरपश्चिमले आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम मैदानमा उत्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित