लगातार दुई फाइनलको हार बिर्साउँदै पहिलो उपाधि जित्ने दाउमा सुदूरपश्चिम, आज लुम्बिनीसँग निर्णायक भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनल खेल सुदूरपश्चिमका लागि यसपटक इतिहास रच्ने सुनौलो अवसर बनेको छ।

लगातार दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्स यसपटक भने विगतका हारको पीडा बिर्साउँदै उपाधि घर भित्र्याउने दृढ लक्ष्यसहित मैदान उत्रँदैछ। दुई पटक फाइनलको ढोकासम्म पुगेर खाली हात फर्किएको सुदूरपश्चिमका लागि तेस्रो प्रयास केवल अर्को खेल मात्र होइन, वर्षौंदेखिको प्रतीक्षा पूरा गर्ने अवसर पनि हो।

एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। त्यसैगरी दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको थियो।

संयोग पनि कस्तो! लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक पनि उपाधिका लागि दोस्रो संस्करणकै विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको हिसाब बराबर गर्ने अवसरसमेत सुदूरपश्चिमसँग छ।

तेस्रो संस्करणमा लुम्बिनीले ११ अंकसहित लिग चरणको शीर्ष स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो। तर हारपछि पनि हिम्मत नहारेको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै लगातार तेस्रो पटक फाइनल यात्रा तय गरेको हो।

अब सुदूरपश्चिमका सामु विगतका दुई फाइनलमा भोगेका हारको इतिहास बदल्ने अवसर छ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

सुदूरपश्चिमको जित केवल एउटा टोलीको उपाधि जित्नु मात्र हुनेछैन, सुदूरपश्चिमेली क्रिकेटप्रेमीको लामो प्रतीक्षा, समर्थन र विश्वासको पनि उत्सव हुनेछ। मैदानमा खेलाडीको प्रदर्शनसँगै हजारौँ समर्थकको आशा र शुभकामना जोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित