काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमार्फत “PM, HM, IM Desh Banaune Toli” भन्ने क्याप्सनसहित आज एक तस्वीर सार्वजनिक गरेपछि उक्त पोस्ट भाइरल बनेको हो।
आज साझ करिब ८ बजेर २० मिनेट जादा प्रधानमन्त्री बालेन शाहले तस्बिर सार्वजनिक गरेका हुन् ।
तस्वीरमा बालेन बीचमा बसेका छन् भने उहाँले दुवै हातले आफ्ना सहयात्रीलाई काखमा च्याप्दै आत्मीय भावमा प्रस्तुत हुनुभएको देखिन्छ। बालेनले आफूलाई सम्भावित प्रधानमन्त्री (PM), सुदन गुरुङलाई गृहमन्त्री (HM) र सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्री (IM) को रूपमा संकेत गर्दै देश बनाउने टोलीको रूपमा चित्रण गर्नुभएको छ।
यो पोस्टलाई धेरैले सामान्य मित्रताको तस्वीरभन्दा फरक अर्थमा हेरेका छन्। युवाहरूले यसलाई नयाँ पुस्ताको आत्मविश्वास, नेतृत्वको आकांक्षा र परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई व्यंग्यात्मक राजनीतिक सन्देशका रूपमा पनि बुझेका छन्।
नेपालको राजनीतिमा पुराना अनुहारप्रतिको निराशा बढिरहेका बेला नयाँ पुस्ताप्रति आम जनताको भरोसा अझै कायमै रहेको देखिन्छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवाहरूको आकर्षण र समर्थनले गएको निर्वाचनमा उल्लेखनीय परिणाम दिएको थियो।
आम नेपाली जनताले देशलाई नयाँ दिशामा लैजान सक्ने विश्वासका साथ वैकल्पिक शक्तिलाई बलियो मत दिएका थिए।
३६ वर्षीय युवा नेतृत्वको प्रतीकका रूपमा स्थापित बालेन शाहप्रति युवापुस्ताको अपेक्षा अझै मरेको छैन। काठमाडौं महानगरको नेतृत्वमा उहाँले देखाएको काम गर्ने शैली, स्पष्ट अभिव्यक्ति र परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने व्यवहारका कारण उहाँलाई धेरैले परिवर्तनको प्रतिनिधि पात्रका रूपमा हेर्ने गरेका छन्।
त्यस्तै, बालेनसँग तस्वीरमा देखिएका सुदन गुरुङ र सुनिल लम्साल पनि सामाजिक सञ्जालमार्फत युवामाझ परिचित नाम हुन्। उनीहरूको यो आत्मीय तस्वीरले “यदि देशको नेतृत्व नयाँ सोच भएका युवाको हातमा पुग्यो भने के साँच्चै परिवर्तन सम्भव छ ?” भन्ने प्रश्नलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।
यद्यपि यो कुनै औपचारिक राजनीतिक घोषणा नभई सामाजिक सञ्जालमा गरिएको प्रतीकात्मक प्रस्तुति मात्र हो। तर यसले नेपाली युवाको मनोविज्ञान भने स्पष्ट देखाएको छ । देशमा सकारात्मक परिवर्तनको चाहना अझै जीवित छ, र त्यो परिवर्तन युवा नेतृत्वबाट सम्भव हुने विश्वास धेरै नेपालीको मनमा बाँकी छ।
राजनीतिमा तस्वीरले कहिलेकाहीँ हजारौँ शब्दभन्दा धेरै सन्देश दिन्छ। बालेन, सुदन र सुनिलको यो तस्वीर पनि त्यस्तै एउटा सन्देश बोकेको तस्वीर बनेको छ। “देश बदल्ने सपना अझै बाँचेको छ, प्रश्न केवल त्यो सपनालाई वास्तविकतामा बदल्न सक्ने इच्छाशक्ति र कार्यक्षमताको हो।”





















Discussion about this post