काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले राहदानी (पासपोर्ट) छपाइ तथा वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आगामी सोमबारदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने जानकारी दिए।
उनका अनुसार अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनीलाई ठेक्का प्रदान गरिएको भए पनि कानुनी तथा प्राविधिक अड्चनका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो। राहदानी अभाव हुन नदिन साविककै कम्पनीलाई ‘भेरिएसन अर्डर’ मार्फत थप सात लाख प्रति राहदानी छाप्न दिइएको उनले बताए।
मन्त्री खनालले नयाँ सरकार गठन हुँदा करिब साढे दुई लाख प्रति राहदानी मौज्दात रहेको र ती राहदानी प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा राज्यलाई करिब २५ लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने देखिएकाले मौज्दात सकिन लागेपछि मात्र नयाँ प्रक्रिया सुरु गरिएको स्पष्ट पारे। पुरानो राहदानीको मूल्य प्रतिप्रति १०.१३ डलर रहेको उनले जानकारी दिए।
राहदानी विभागले आगामी सातादेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। यसका लागि करिब एक करोड नेपाली नागरिकको डिजिटल विवरण नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले केही दिन सेवा प्रभावित हुने मन्त्री खनालले बताए।
तयारीस्वरूप विभागले मंगलबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट राहदानी आवेदन लिने कार्य स्थगित गरेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा पनि दुई दिन सेवा प्रभावित हुने जनाइएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी वितरण सुरु गरिनेछ।
राहदानी छपाइसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छानबिन गरी मुद्दा अदालतमा पुगेको सन्दर्भमा मन्त्री खनालले अदालतमा विचाराधीन विषय भएकाले टिप्पणी गर्न नमिल्ने बताए। यद्यपि सरकार र सम्बन्धित कम्पनीबीच भएको करार सम्झौताअनुसार काम अगाडि बढिरहेको उनको भनाइ छ।
नयाँ प्रणाली लागू भएपछि सुरुवाती तीन महिनालाई ‘स्टेबलाइजेसन पिरियड’का रूपमा राखिएको छ। यस अवधिमा सम्भावित प्राविधिक समस्या समाधान गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिएको र सेवामा ठूलो अवरोध आउन नदिने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गरे।
उनले अत्यावश्यक रूपमा राहदानी चाहिने नागरिकलाई तत्काल आवेदन दिन तथा अन्य सेवाग्राहीलाई अर्को सातासम्म धैर्य गर्न अनुरोध समेत गरेका छन्।





















Discussion about this post