अभाव र विभेद चिर्दै आचार्य बनेका कञ्चनपुरका कृष्ण दमाईलाई राष्ट्रिय सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइनखबरले सार्वजनिक गरेको २०८३ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूचीमा कञ्चनपुरका कृष्णबहादुर दमाई पनि परेका छन् । ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान गरेका हुन् ।

गरिब परिवारमा जन्मिएका कृष्णबहादुरको यहाँसम्मको यात्रा सहज थिएन । जीवनको सुरुवाती चरण निकै दयनीय थियो । आर्थिक अभाव, सामाजिक विभेद र जातीय छुवाछुतका अनेकौँ अवरोध पार गर्दै उनले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘आचार्य’को उपाधि हासिल गरे ।

कुनै समय जातकै कारण मन्दिरमा टीका लगाउनसमेत अस्वीकार गरिएका कृष्णबहादुर आज त्यही धार्मिक परम्पराभित्र रहेर विभेदको जरो हल्लाउने अभियानमा छन् । उनले पशुपतिनाथको व्यासासनमा समेत कथा वाचन गरिसकेका छन् ।

तर कृष्णबहादुरको लक्ष्य केवल पण्डित बन्नु होइन । कर्मकाण्ड, संस्कार र धार्मिक परम्परालाई नै जातीय विभेदविरुद्धको सांस्कृतिक अभियानको माध्यम बनाउने उनको प्रयास छ । आफूले भोगेको विभेदलाई कमजोरी होइन, परिवर्तनको ऊर्जा बनाउँदै उनी सामाजिक समानताको सन्देश फैलाइरहेका छन् ।

कृष्णबहादुर कुनै समय ‘नयाँ जनक्रान्ति’मा पत्रकारका रूपमा समेत सक्रिय थिए । समाजका आवाज र सीमान्तकृत समुदायका सवाललाई नजिकबाट नियाल्दै आएका उनले पत्रकारिताबाट सुरु गरेको सामाजिक चेतनाको यात्रालाई अहिले धार्मिक तथा सांस्कृतिक अभियानसँग जोडिरहेका छन् ।

गरिब घरपरिवारबाट उठेर अभाव र विभेदसँग संघर्ष गर्दै आचार्य बनेका कृष्णबहादुरको यो उपलब्धि व्यक्तिगत सफलतामात्र होइन, सामाजिक विभेदको पर्खाल भत्काउँदै अघि बढेको एउटा प्रेरणादायी यात्रा पनि हो ।

अनलाइनखबरले करिब चार महिनाको अध्ययनपछि अनलाइन आवेदन तथा सिफारिसबाट प्राप्त करिब १ हजार ५ सय नाममध्येबाट ४० प्रभावशाली युवा छनोट गरेको हो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, अनुसन्धाता डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले सूचीलाई अन्तिम रूप दिएको थियो ।

कृष्णबहादुर दमाईको कथा अभावबाट सम्भावनातर्फ, विभेदबाट समानतातर्फ र मौनताबाट परिवर्तनतर्फको यात्रा हो । कञ्चनपुरको एउटा सामान्य परिवारबाट उठेका यी युवा आज देशभरका युवाका लागि संघर्ष, शिक्षा र सामाजिक परिवर्तनको प्रेरणाका रूपमा चिनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित