मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक भोली सम्मका लागी स्थगित

 

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजे बोलाइएको बैठक शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव युवराज जैशीले जानकारी दिएका छन् ।सत्ता पक्षबाटै विश्वासको मत नपाइने खतरा बढेपछि मुख्यमन्त्री सोडारीको आग्रहमा प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

सल्लाह नै नगरी विश्वासको मत लिन खोजेको भन्दै सोडारीलाई मत नदिने एमालेले बताएको थियो ।नागरिक उन्मुक्ति पार्टी विश्वासको मतबारे विभाजित छ । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । यता रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् ।

उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् ।सत्ताधारी दलहरू नै विश्वासको मतको पक्षमा नउभिने संकेत पाएपछि सोडारी अफ्ठ्यारोमा परेका छन् । सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिएका छन् । नेपाली कांग्रेसले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको थियो ।

असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको हो ।सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठ सम्मको समय छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्न २७ सांसद आवश्यक पर्छन् । यहाँ एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रञ्जिथता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित