काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँले मूल्य वृद्धि गरिएको हो। बढेको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ।
विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही प्रभावका कारण १६ देखि ३१ मार्चसम्मको १५ दिनमा करिब ५ अर्ब रुपैयाँ घाटा हुने निगमको अनुमान छ। पछिल्लो मूल्य वृद्धिको प्रक्षेपणका आधारमा आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने देखिएको पनि निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल १८६ रुपैयाँ निर्धारण गरिएको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८७ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न विषम परिस्थितिमा निगमले उपभोक्ता तथा सरोकारवालासँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नासाथ तत्काल मूल्य समायोजन गरी घटाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।























Discussion about this post