महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा झोलुङ्गे पुल बगाउँदा चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन्।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका-४ बाट भीमदत्त नगरपालिका-१३ तर्फ रबर बोटको सहायताले महाकाली नदी पारि टेलिकमको तार तान्ने क्रममा उक्त घटना भएको हो।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। तार चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले नदीमा चुँडिएको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो। सोही क्रममा तार असई थारुको खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि बेपत्ता असई थारुको खोजी कार्य जारी रहेको छ। उनको अवस्था तथा खोजी कार्यको पछिल्लो प्रगतिबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित