काठमाडौं। सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।
जेनजी आन्दोलनका क्रममा निधन भएका सहिदहरूको सम्मानमा यो दिवस मनाइने निर्णयसँगै राज्यले सहिद परिवारप्रति कृतज्ञता व्यक्त गर्न चाहेको सरकारको धारणा बैठकले व्यक्त गरेको छ। यसअन्तर्गत सहिदका आमा, बुबा, श्रीमान, श्रीमती तथा अविवाहित छोरा–छोरीलाई गृहमन्त्रालयमार्फत फोटोसहित परिचयपत्र वितरण गरिनेछ।
यस्तै, आर्थिक पारदर्शिता बढाउने उद्देश्यले सरकारले आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबार अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ्ग च्यानलमार्फत गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। त्यसअनुसार यस्ता रकमका सबै बस्तु/सेवा खरिद–बिक्री तथा कारोवारमा अब नगद प्रयोग गर्न पाइने छैन।
श्रीलंकामा हालै आएको बाढी–पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएको सन्दर्भमा नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहायता प्रदान गर्ने पनि निर्णय गरिएको छ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापालाई नियुक्त गर्ने, प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने तथा कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, बैंकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने प्रस्ताव बैठकले पारित गरेको प्रवक्ता खरेलले जानकारी दिए।





















Discussion about this post