अब ‘म्यादी’ होइन, निर्वाचन प्रहरी : आगामी चुनावका लागि १ लाख ३० हजार जनशक्ति भर्ना हुने

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । यसअघि नेपाल प्रहरीले तिनै जनशक्तिलाई ‘म्यादी प्रहरी’ भनेर परिचित गर्दै आएको थियो ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षार्थ परिचालन हुने जनशक्तिलाई नयाँ नामसहित ४० दिनको कार्यअवधिका लागि भर्ना प्रक्रिया अघि बढाइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, “म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नाम राख्दा कार्यसम्बन्धी पहिचान र अपनत्व बढ्छ । नामकरण नै सबैथोक नभए पनि यसले कामको उद्देश्य प्रस्ट पार्छ ।”

‘निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा अहिले प्रहरी प्रधान कार्यालयमा तयार हुँदैछ । नयाँ संरचना अनुसार निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम आउनेसम्मको अवधिमा परिचालन गरिनेछ । उनीहरूलाई प्रहरी जवानको आधारभूत तलबमानअनुसार पारिश्रमिक र सम्बन्धित जिल्लाको स्केलअनुसार रासन भत्ता उपलब्ध गराइनेछ । पोसाक, यात्रा तथा अन्य भत्ताको व्यवस्था पनि विगतकै अभ्यासअनुसार कायम रहनेछ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई ४० दिनका लागि प्रतिदिन ८६९ रुपैयाँका दरले ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, ७ हजार २ सय रासन, ६ हजार पोसाक, १ हजार ज्याकेट, १ हजार यातायात र तीन दिनका लागि दैनिक ३०० का दरले खाजा खर्च उपलब्ध गराइएको थियो ।

आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी सरकारको छ । २०७९ को संघ-प्रदेश निर्वाचनमा १ लाख १५ हजार र सोही वर्षको स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी खटाइएका थिए । २०७४ को संघ-प्रदेश निर्वाचनमा ९८ हजार, स्थानीय तहमा ७५ हजार तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित