काठमाडौँ : समाचार संकलनका क्रममा खटिएका सञ्चारकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा आज च्यासलस्थित एमाले पार्टी कार्यालयमा खटिएका पत्रकारहरू दुर्व्यवहारमा परेका हुन्।
महासंघका अनुसार, उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंलाई उत्तेजित कार्यकर्ताले लात्ती प्रहार गर्दै लछारपछार गरेका थिए। त्यसैगरी, कान्तिपुरका दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलामाथि फोटो खिच्न खोज्दा गालीगलौज गर्दै दुर्व्यवहार गरिएको जानकारी प्राप्त भएको छ।
समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई कार्यकर्ताले दुर्व्यवहार गरी पार्टी कार्यालय परिसरबाट लखेटेको महासंघले जनाएको छ। महासंघले पत्रकारमाथि भएको कुटपिट, दुर्व्यवहार र लखेट्ने कार्यलाई प्रेस स्वतन्त्रताविरुद्धको गम्भीर हर्कत भन्दै कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।
महासंघले घटनामा संलग्न व्यक्तिहरूमाथि सम्बन्धित राजनीतिक दलले अनुशासनात्मक कारबाही गर्नुपर्ने र राज्यका निकायले तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ।
यसैबीच, गत भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएपछि देशभर विरोध प्रदर्शन भइरहेका छन्। आगामी दिनमा थप प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महासंघले समाचार संकलनमा खटिने क्रममा पत्रकारहरूले सुरक्षा सतर्कता अपनाउन र आन्दोलनकारीहरूलाई प्रेसप्रति संयमता अपनाउन आग्रह गरेको छ।



















Discussion about this post