काठमाडौँ : प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर क्षेत्र नं. १ का सांसद जनक सिंह धामीले आफ्नो क्षेत्रका जनताले भोगिरहेका सिमा सम्बन्धी जटिल समस्याहरू जोडदार रूपमा संसदमा उठाएका छन्। पहिलोपटक गरिमामय संसदमा बोल्दै उनले मतदाताको अपेक्षा र पीडालाई प्राथमिकतामा राख्दै स्पष्ट र प्रभावकारी ढंगले विषय प्रस्तुत गरे।
धामीले “पुर्जा छ तर चलनभोग छैन” भन्ने विडम्बनालाई उजागर गर्दै सिमा क्षेत्रका नागरिकहरू अझै पनि आधारभूत अधिकारबाट वञ्चित रहेको उल्लेख गरे। खुल्ला सिमाका कारण युवाहरू कुलतमा फस्ने जोखिम बढिरहेको, हुलाकी सडक निर्माण अवरुद्ध भएको, बेलौरी भन्सार स्तरोन्नति नहुँदा व्यापार प्रभावित भएको तथा सिमा व्यवस्थापन अभावका कारण किसान र व्यापारी मर्कामा परेको विषय उनले व्यापक रूपमा उठाए।
शून्य समय केवल एक मिनेटको भए पनि आफ्नो क्षेत्रका समस्या घण्टौँ छलफल गर्दा पनि नसकिने खालका रहेको बताउँदै धामीले ती समस्यालाई निरन्तर रूपमा संसदमा उठाउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनको पहिलो सम्बोधनले नै सिमा क्षेत्रका नागरिकको आवाज संसदसम्म पुर्याएको भन्दै सराहना भइरहेको छ।




















Discussion about this post