बेलडाँडी । नेपाल रेडक्रस सोसाइटी बेलडाँडी गाउँपालिका शाखाले यही २८ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
इतिहासमै पहिलो पटक बेलडाँडीमा स्थापना भएको शाखाले पहिलो निर्णयकै रूपमा रक्तदान कार्यक्रम गर्ने तय गरेको शाखाका संयोजक पवन कुमार जोशीले जानकारी दिनुभयो।
मानवता, सेवा र समर्पणको प्रतीक मानिने प्रतिष्ठित परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी बेलडाँडीमा स्थापना भएको अवसरमा एकदिने रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
सृजनशील बचत तथा ऋण सहकारी संस्थाको सौजन्यमा रेडक्रस सोसाइटी बेलडाँडी पालिका शाखाको आयोजनामा कार्यक्रम सञ्चालन हुने बताइएको छ।
“रक्तदान जीवनदान हो” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रम शनिबार बिहान साढे ९ बजेदेखि चवन्नी बजार पछाडि रहेको त्रिशुली आधारभूत विद्यालय परिसरमा सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पुर्याउन इच्छुक तथा परोपकारी मन भएका सबैलाई शाखाले आग्रह गरेको छ।
शाखाका कोषाध्यक्ष क्षितिज भट्टका अनुसार समुदायमा मानवताको भावना अभिवृद्धि गर्दै आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।






















Discussion about this post