कञ्चनपुर । पत्रकार बासुदेव धामी विमल विरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको घटनाले देशभरका पत्रकार संगठनहरूलाई एकै ठाउँमा उभ्याएको छ। केन्द्र देखि प्रदेश र जिल्लास्तरसम्मका पत्रकार संघ(संगठनहरूले उक्त कदमको विरोध गर्दै पत्रकार धामीको पक्षमा न्यायको आवाज उठाएका छन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार धामीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गर्नुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै पत्रकारमाथि फौजदारी अभियोग लगाउनु संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख गरिएको छ।
महासंघले पत्रकार धामीका परिवारलाईसमेत धम्की आइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रेस काउन्सिल नेपाललाई यो विषय आफ्नो क्षेत्राधिकारभित्र लिएर समाधान गर्न तथा प्रहरीलाई यस्तो कदमबाट पछि हट्न आग्रह गरेको छ। साथै, पत्रकार र उनका परिवारको सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ।
यस्तै, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि धामी प्रकरणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै समाचार लेखेकै आधारमा साइबर मुद्दा लगाउनु आपत्तिजनक र प्रेस स्वतन्त्रताविरुद्धको कदम भएको ठहर गरेको छ। महासचिव शिवराज भट्टद्वारा जारी विज्ञप्तिमा विद्युतीय कारोबार ऐनको दुरुपयोगले स्वतन्त्र पत्रकारितामाथि नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
यसअघि नै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा, अनलाइन टिभी पत्रकार संघ नेपाल कञ्चनपुर तथा प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकार धामीमाथि लगाइएको मुद्दा खारेज गर्न माग गरिसकेका छन्। ती संगठनहरूले समाचारप्रति असहमति भए प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्नेमा प्रहरीमार्फत मुद्दा दर्ता गर्नु गलत अभ्यास भएको बताएका छन्।
पत्रकार संघ(संगठनहरूको साझा धारणा अनुसार खोज पत्रकारिता गर्दै आएका धामीमाथि लगाइएको मुद्दाले समग्र संचार क्षेत्रलाई त्रसित बनाउने खतरा बढाएको छ। उनीहरूले यो घटनालाई केवल एक व्यक्तिको मुद्दा नभई स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।
समग्रमा केन्द्र देखि स्थानीय तहसम्मका पत्रकार संगठनहरू पत्रकार धामीको न्यायका लागि एकजुट भएका छन्। उनीहरूले मुद्दा तत्काल खारेज गर्न, प्रेस काउन्सिलमार्फत समाधान खोज्न र पत्रकार तथा उनका परिवारको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा अझ सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएका छन्।






















Discussion about this post