कञ्चनपुर । महेन्द्र राजमार्ग अन्तर्गत गड्डाचौकी-अत्तरिया-चिसापानी सडक खण्डको जमिन अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने प्रक्रिया सुरु भएको छ । सडक क्षेत्रभित्र बनाइएका पक्की तथा अस्थायी संरचना केही व्यवसायीले आफैँ हटाउन थालेका हुन् ।
गत ३० वैशाखमा सडक डिभिजन कार्यालय महेन्द्रनगर ले अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेपछि महेन्द्रनगर का एक पेट्रोल व्यवसायीले आफ्नै संरचना खाली गर्न सुरु गरेका छन् ।
विपिन इन्टरप्राइजेज ले सडक क्षेत्रमा निर्माण गरिएको पेट्रोलपम्प हटाउन थालेको हो । कम्पनीका सञ्चालक तरुण लखेरा ले सडक कार्यालयबाट सूचना जारी भएको जानकारी पाएपछि संरचना हटाउन थालिएको बताए ।
उनले पुरानो संरचना आफ्नै जमिनभित्र सारेर व्यवस्थित र स्तरीय रूपमा पुनः निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै सडकको जमिन जानीजानी अतिक्रमण नगरेको दाबी गरे ।
राजमार्गको दायाँ-बायाँ २५/२५ मिटर क्षेत्रमा वर्षौंदेखि विभिन्न व्यवसायीले संरचना निर्माण गरेर व्यापार गर्दै आएका छन् । पछिल्लो समय देशभर अतिक्रमित सरकारी जमिन खाली गर्ने अभियान तीव्र बनेसँगै कञ्चनपुरमा पनि सरकारी निकाय सक्रिय बनेका हुन् ।
यसअघि सुरेन्द्र विष्ट को कार्यकालमा पनि भीमदत्त नगर क्षेत्रमा राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको थियो । सडक डिभिजन कार्यालयले विगतमा समेत पटक-पटक सूचना जारी गर्दै अतिक्रमित क्षेत्र खाली गराउने प्रयास गर्दै आएको छ ।
सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी तथा इन्जिनियर हरिस जोशी ले सूचना अवधिभित्र संरचना नहटाउनेमाथि कानुनी कारबाही गरिने चेतावनी दिए ।
उनले स्थानीय जनप्रतिनिधि र प्रशासनसँग समन्वय गरेर सडक क्षेत्र खाली गराइने स्पष्ट पारे ।
कञ्चनपुरको गड्डाचौकी देखि कैलालीको चिसापानी सम्म करिब १२७ किलोमिटर सडक क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको सरोकारवालाले बताएका छन् ।




















Discussion about this post