गोदावरी । अत्तरिया बजार चोक मा आधुनिक पैदलयात्री आकाशे पुल निर्माण कार्य सुरु गरिएको छ । शनिबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट ले पुलको शिलन्यास गर्दै यसले ट्राफिक व्यवस्थापन सुधार, पैदलयात्रीको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
नगरप्रमुख भट्टका अनुसार कुल एक करोड ४२ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण हुन लागेको उक्त आकाशे पुल आगामी २०८३ साल पुसभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
गोदावरी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमार्फत ठेक्का नं. GM/NCB/W/2082/83/14 अन्तर्गत अघि बढाइएको आयोजनाको निर्माण जिम्मा ‘क्रीजल त्रिनेत्र सिद्धनाथ जेभी’ ले पाएको हो । निर्माण कम्पनीका इन्जिनियर मोहित चन्द ले निर्धारित समयभित्रै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिका र निर्माण कम्पनीबीच २०८२ साल फागुन १० गते निर्माण सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी २०८३ साल पुस ३० गतेभित्र पुल निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि सञ्चालनमा ल्याइनेछ ।
आकाशे पुल निर्माणसँगै अत्तरिया चोक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण हुनुका साथै सहरी सौन्दर्यतामा समेत वृद्धि हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।




















Discussion about this post