कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-५ को रकुनी टोलमा एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। मृतक स्थानीय ४५ वर्षीय लीलाराम सुनार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्र थापाका अनुसार सोमबार बिहान सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनास्थलबाट एक थान चक्कु पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
सोमबार बिहान करिब ७ बजे मृतककी श्रीमतीले नै प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।























Discussion about this post