काठमाडौँ । जनक सिंह धामी र निराशा चौधरी डगौरा ले प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा कञ्चनपुरका जनताको समस्या संसदमा जोडदार रूपमा उठाएका छन् ।
कञ्चनपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद धामीले चौधर र दोदा नदीका कारण बेलडाँडी, बेलौरी, लालझाडी तथा पुनर्वास क्षेत्रका नागरिकले वर्षेनी बाढी, कटान, डुबान र पटानको पीडा झेल्दै आएको बताएका छन् । बर्खायाम सुरु हुनासाथ स्थानीयवासी रातभर निदाउन नसक्ने र दिनभर त्रासमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि सरकारले तत्काल गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले नदीजन्य विपद्का कारण खेतीयोग्य जमिन नष्ट हुँदै गएको, भोकमरीको जोखिम बढ्दै गएको र धेरै नागरिक रोजगारी तथा जीवनयापनका लागि भारत पलायन हुन बाध्य भएको विषय पनि संसदमा उठाएका छन् ।
सांसद धामीले यी नदी आसपास क्षेत्रमा बाक्लो बसोबास रहेको रानाथारु समुदाय सामाजिक तथा आर्थिक रूपमा अझै पछाडि परेको उल्लेख गर्दै रानाथारु संरक्षित क्षेत्र घोषणा गर्न तथा रानाथारु क्लस्टर सूचीकृत गरी विशेष उत्थान कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै, सांसद चौधरीले कञ्चनपुरको कृषि क्षेत्र दिनप्रतिदिन संकटतर्फ धकेलिँदै गएको बताउँदै किसानका समस्यामा सरकारको ध्यानाकर्षण गराएकी छन् । किसानसँग लालपुर्जा हुँदाहुँदै पनि सहज रूपमा कृषि ऋण नपाइने, समयमा मल उपलब्ध नहुने, उत्पादनले बजार नपाउने र उचित मूल्य नपाउँदा किसान निराश बन्दै गएको उनले बताइन् ।
संसदमा लगातार कञ्चनपुरका समस्या गुञ्जिन थालेपछि स्थानीयवासीमा समस्या समाधान हुने आशा बढ्न थालेको छ । यसअघि पनि सांसद धामीले क्षेत्रीय विकास, नदी नियन्त्रण, कृषि तथा जनजीविकासँग सम्बन्धित विषय निरन्तर रूपमा संसदमा उठाउँदै आएका छन् । संसदमा कञ्चनपुरका आवाज दिनप्रतिदिन बलियो बन्दै जाँदा यहाँका नागरिकमा आशाको नयाँ दियो बल्न थालेको स्थानीयवासीको विश्वास छ ।























Discussion about this post