कञ्चनपुर । गत वर्ष जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका खडक बहादुर खत्री ले १३ महिनाको अवधिमा अपराध नियन्त्रण, सुशासन र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय काम गरेको प्रहरी तथ्यांकले देखाएको छ।
०८२ वैशाखदेखि कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेका एसपी खत्री नेतृत्वमा जिल्लामा लागुऔषध कारोबार, चोरी–तस्करी तथा आपराधिक सञ्जालविरुद्ध कडा अभियान सञ्चालन गरिएको थियो। यही अवधिमा जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि समेत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १३ महिनाको अवधिमा दर्ता भएका ९०७ मुद्दामध्ये ५९० मुद्दा फर्छ्योट गरिएको छ। यस अवधिमा फरार रहेका ४४४ अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को सुरक्षा व्यवस्थापनदेखि विभिन्न संवेदनशील घटनामा शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको दाबी गरिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न ७ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको थियो।
सीमावर्ती जिल्ला कञ्चनपुरमा बढ्दो लागुऔषध कारोबार र सेवन नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। उक्त अवधिमा २११ जना पक्राउ परेका छन्, जसमा १८ महिला र १९३ पुरुष रहेका छन्।
प्रहरीले ५९०.८७५ ग्राम खैरो हिरोइन, ८ केजी २२ ग्राम चरेस, ५ किलो गाँजा तथा ५८७ थान नशालु ट्याब्लेट बरामद गरेको जनाएको छ।
ठाडो उजुरीतर्फ झण्डै ३ हजारमध्ये २,९९४ उजुरी फर्छ्योट गरिएको छ भने एउटा मात्रै उजुरी बाँकी रहेको प्रहरीको तथ्यांक छ।
जुवातास नियन्त्रण अभियानअन्तर्गत २२ मुद्दामा १७२ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूबाट ९ लाख ४१ हजार ४७३ रुपैयाँ बरामद गरी राजस्व दाखिला गरिएको छ।
त्यसैगरी, भन्सार छली गरेर ल्याइएका ५ करोड ४० लाख ६७ हजार ७९७ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरी भन्सार कार्यालय बुझाइएको छ। तस्करीमा संलग्न १४ जना पक्राउ परेका छन् भने ३१ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अवैध रूपमा ल्याइएका बाख्रा, भैंसी, राँगा, घोडा, कुखुरा, चल्ला तथा माछासमेत बरामद गरी भन्सार चलान गरिएको छ। यस्तै २५ हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।
वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणका क्रममा काठ चोरी-तस्करीमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्दै साढे चार सय क्यूफिट काठ बरामद गरी वन कार्यालय बुझाइएको छ।
नदीजन्य प्राकृतिक स्रोत-साधनको अवैध उत्खनन तथा चोरी निकासीमा संलग्न १७ ट्र्याक्टर, १ टिपर र १ जेसीबी नियन्त्रणमा लिइएको छ। यसबाट १ लाख ५५ हजार ९२० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
ट्राफिक कारबाहीतर्फ ६ हजार ५७१ सवारी साधनमाथि कारबाही गर्दै ४६ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। साथै ३४६ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी २३ हजारभन्दा बढी नागरिकलाई सचेतना प्रदान गरिएको छ।
महिला, बालबालिका तथा जोखिममा परेकाको उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका ३३३ उजुरी सबै फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।
जोखिममा परेका ८० जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ भने हराएका १९२ महिला, ५७ बालक, ११५ बालिका र २२ ज्येष्ठ नागरिकलाई फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको छ।
यसैबीच, बेदकोट र कृष्णपुर क्षेत्रमा करिब डेढ सय छाउगोठ भत्काइएको पनि प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडक बहादुर खत्री ले संगठनले दिएको जिम्मेवारी निर्भीकतापूर्वक पूरा गरेको बताउँदै कानुन कार्यान्वयनसँगै सामाजिक सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिएका छन् ।























Discussion about this post