कञ्चनपुर । वर्षायाम सुरु भएसँगै डेंगु संक्रमणको जोखिम बढ्न थालेपछि कञ्चनपुरमा डेंगु नियन्त्रण तथा सचेतनामूलक कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरको अगुवाइमा स्थानीय तहहरूसँग समन्वय गरी लामखुट्टेको बासस्थान खोजी, लार्भा नष्ट गर्ने र जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन भइरहेको औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए।
उनका अनुसार डेंगु नियन्त्रणको सुरुवात घर आँगन सफा राख्ने, पानी जम्ने स्थान हटाउने जस्ता आधारभूत अभ्यासबाट गर्नुपर्ने हुन्छ। “फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाँडाहरू जस्ता ठाउँमा लामखुट्टे उत्पादन हुने भएकाले ती स्थान सफा राख्न विशेष ध्यान दिइँदैछ,” उनले बताए।
कार्यक्रममा सहभागीहरूलाई लार्भा पहिचान गर्ने तरिका सिकाउने, घर-घरमा सर्भे गर्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यसबेला लामो बाहुला लगाउने, झ्याल ढोकामा जाली लगाउने, झुलको प्रयोग गर्नेजस्ता उपायबारे अवगत गराइँदैछ।
“डेंगुका लक्षण देखिएमा (उच्च ज्वरो, टाउको र आँखाको पछाडि दुखाइ, मांसपेशी र हड्डी दुख्ने) तत्काल नजिकको स्वास्थ्य संस्थामा जानु आवश्यक छ,” भट्टले भने। “डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ, जसको जीवनचक्र अण्डा, लार्भा, प्युपा र वयस्क चरणमा हुन्छ,” उनले थपे।
शुक्लाफाँटा नगरपालिकामा यस्ता कार्यक्रम सम्पन्न भइसकेको र कृष्णपुर नगरपालिकाका दुई स्थानमा सञ्चालनको तयारी भइरहेको समेत उनले जानकारी दिए। अन्य जोखिमयुक्त स्थानहरूमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने योजना छ।
पिपलाडी स्वास्थ्य चौकी प्रमुख दुर्गादत्त भट्टले पनि डेंगु नियन्त्रणमा व्यक्तिगत सरसफाइ, सामुदायिक जागरण र सरकारी संयन्त्रबीचको सहकार्य अत्यन्त जरुरी रहेको बताए। “सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग गर्नेछ भन्ने विश्वास लिएको छौं,” उनले भने।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म जिल्लामा २९ जना व्यक्तिमा डेंगुको संक्रमण पुष्टि भइसकेको छ। वर्षाको क्रम जारी रहेकाले संक्रमण अझै बढ्न सक्ने जोखिम देखिएको र त्यसअनुसार सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।





















Discussion about this post