आमरण अनसनमा ऐक्यबद्धता बढ्दै : बेलौरीमा सुशासनको मागसहित बोहराको आन्दोलनलाई स्वतन्त्र र रास्वपा उम्मेदवारको समर्थन

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार यादव सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामीले बेलौरीमा आमरण अनसनमा बसेका केशब कुमार बोहरालाई भेटेर ऐक्यबद्धता जनाएका छन्।

रास्वपा उम्मेदवार जनक सिंह धामीले हिजो र स्वतन्त्र उम्मेदवार यादव सिंहले आज बिहान अनसनरत बोहरालाई भेटी उनका मागहरू पूर्ण रूपमा जायज रहेको बताएका छन्। उनीहरूले बोहराले उठाएका विषयहरू नै आफ्नो उम्मेदवारीका मुख्य एजेन्डा रहेको उल्लेख गरे।

स्वतन्त्र उम्मेदवार यादव सिंहले यस्ता विषयलाई लिएर देशभर ‘जेन-जी आन्दोलन’ समेत भइसकेको भए पनि स्थानीय तहमा अझै समस्या यथावत रहनु दुःखद भएको बताए। त्यस्तै रास्वपा उम्मेदवार धामीले शिक्षा, स्वास्थ्य, कृषि र सुशासनसँग सम्बन्धित बेथितिले जनतालाई गहिरो फ्रस्ट्रेसनमा पुर्‍याएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।

बेलौरी नगरपालिकामा सुशासनको माग गर्दै केशब कुमार बोहरा चार दिनदेखि आमरण अनसनमा बसेका हुन्। “युवा जागौँ, सुशासन कायम गरौँ” र “जनताको कर, जनताको अधिकार” भन्ने मूल नारासहित बोहरा बेलौरी बजारको भीमदत्त चोकस्थित पिपल चौतारामा अनसनमा बसेका छन्।

नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनका क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न माग गर्दै बोहराले १३ बुँदे मागपत्र सार्वजनिक गरेका छन्, जसमा यी क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ समेटिएको छ।

अनसनरत बोहरालाई बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले समेत भेट गरेका थिए। बोहराका मागबारे छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएपछि नगरपालिकामा थप छलफल गर्ने जनाइएको बोहराले बताएका छन्।

बोहराका १३ बुँदे माग यस्ता छन् :

शिक्षा क्षेत्रमा बजेट, दिवा खाजा, नियुक्ति तथा व्यवस्थापनमा भएको भ्रष्टाचारको छानबिन गर्दै पारदर्शी प्रणाली लागू गर्नुपर्ने, नगर अस्पताल तथा स्वास्थ्य चौकीमा निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने, खानेपानी आयोजनामा भएको अनियमितताको छानबिन गर्दै सबै घरधुरीमा सुरक्षित पानीको व्यवस्था गर्नुपर्ने माग बोहराले राखेका छन्।

त्यसैगरी कृषिमा अनुदानको दुरुपयोग रोक्दै वास्तविक किसानलाई सेवा उपलब्ध गराउनुपर्ने, खेलकुद बजेट पारदर्शी रूपमा सञ्चालन गर्नुपर्ने, बजारमा कालोबजारी र ठगी नियन्त्रण गर्नुपर्ने, बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री पूर्ण रूपमा निषेध गर्नुपर्ने माग पनि समेटिएका छन्।

सूचनाको हक हनन गर्ने पदाधिकारीमाथि कानुनी कारबाही, अनियमित रूपमा नियुक्त करार कर्मचारी हटाउने, अलपत्र सडक मर्मत, ढल निकास तथा सरसफाइको दीर्घकालीन व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसहित बोहराको आमरण अनसन जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित