निर्वाचन आउन १७ दिन बाँकी : आजदेखि औपचारिक प्रचार-प्रसार सुरु

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। निर्वाचन मिति नजिकिँदै गर्दा अब राजनीतिक दल र उम्मेदवारहरू मतदातासमक्ष खुलेर आफ्ना एजेन्डा प्रस्तुत गर्न सक्नेछन्।

निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न र सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार-प्रसार गर्न सकिनेछ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ। औपचारिक प्रचार अवधिमा उम्मेदवारहरूले मतदातासँग भेटघाट, आमसभा तथा कोणसभा गर्दै आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गर्न सक्नेछन्।

पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममा तोकिएको मापदण्डअनुसार विज्ञापन प्रकाशन/प्रसारण गर्न पाइने व्यवस्था छ। तर आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनलगायतका खर्चको स्पष्ट विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, दण्ड–जरिवाना गर्ने वा गम्भीर अवस्थामा उम्मेदवारी नै खारेजसम्म गर्न सकिने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

त्यसैगरी निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध निहित स्वार्थका लागि सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक छलफलपछि तर्जुमा गरिएको जनाउँदै आयोगले यसको पूर्ण परिपालना गर्न सबै दलले प्रतिबद्धता जनाएको स्मरण गराएको छ।

निर्वाचन नजिकिँदै गर्दा अब मतदाता र उम्मेदवार दुवैलाई आचारसंहिताको सीमाभित्र रही स्वस्थ, मर्यादित र प्रतिस्पर्धात्मक वातावरण कायम राख्नु आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित