बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित चवन्नी बजार हुँदै बैवाहको कान्छीबजार जोड्ने सडक कालोपत्रे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिका-१८ स्थित डिडिएल गुराँस पन्त जेभी र बेलडाँडी गाउँपालिकाबीच गत मंसिर २२ गते सम्पन्न सम्झौताअनुसार सुरु भएको योजना अहिले समापनको चरणमा पुगेको हो ।
सुरुवाती चरणदेखि नै निर्माण कम्पनीले तीव्र गतिमा सडक निर्माण कार्य अघि बढाएको र हालसम्म गरिएको काम गुणस्तरीय रहेको निष्कर्ष गाउँपालिकाको पूर्वाधार शाखाले निकालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा सडकको गुणस्तरलाई लिएर विभिन्न भिडियो क्लिप सार्वजनिक भएपछि स्थानीयवासीमा केही आशंका उत्पन्न भएको थियो । विशेषगरी कालोपत्रे गरिएको सडकमा मोटरसाइकल पार्किङ गर्दा स्टेन्ड भासिने दृश्य सार्वजनिक भएपछि सडक गुणस्तरमाथि प्रश्न उठाइएको थियो ।
तर गाउँपालिकाको पूर्वाधार शाखाले भने प्रयोग गरिएका सम्पूर्ण सामग्री तथा सडकको प्रत्येक तहको गुणस्तर परीक्षण गरिएको स्पष्ट पारेको छ । शाखाका अनुसार सडक निर्माणमा प्रयोग भएका हरेक लेयरको ल्याब परीक्षण गरिएको र रिपोर्टअनुसार गुणस्तरमा कुनै कमजोरी नरहेको जनाएको छ ।
पूर्वाधार शाखाले बिटुमिनको तापक्रमअनुसार ‘सफ्ट’ र ‘हार्ड’ हुने गुणका कारण हालको मौसममा ‘प्रिमिक्स’ पूर्ण रूपमा सेट हुन केही समय लाग्ने जनाएको छ । नयाँ बनेको सतहमा मोटरसाइकलको स्टेन्डबाट एउटै बिन्दुमा अत्यधिक भार पर्ने भएकाले केही स्थानमा दबाब देखिएको शाखाको भनाइ छ ।
शाखाले सडकको बीच भागमा सवारी साधनको नियमित आवागमन भइरहेका स्थानमा कुनै समस्या नदेखिएको उल्लेख गर्दै सडक किनारमा पार्किङ गरिएका मोटरसाइकलका कारण ‘प्रिमिक्स’मा हल्का डिप्रेसन देखिएको जनाएको छ ।
सडकको माथिल्लो सतहको ‘कोर कटिङ’ गरी थप परीक्षणका लागि नमुना ल्याबमा पठाइएको र गुणस्तरमा कुनै त्रुटि भेटिए नियमानुसार प्रक्रिया अघि बढाइने पूर्वाधार शाखाले जनाएको छ । साथै निर्माण कार्य सम्पन्न भई सम्झौताअनुसार सबै मापदण्ड पूरा नभएसम्म अन्तिम भुक्तानी नहुने पनि स्पष्ट पारिएको छ ।
गाउँपालिकाले बजार व्यवस्थापन समिति तथा स्थानीयलाई केही समय सडक किनारमा मोटरसाइकल पार्किङ नगर्न आग्रह गरेको छ । सडकमा नियमित सवारी आवागमन बढेपछि ‘प्रिमिक्स’ सेट हुँदै जाने र हाल देखिएको समस्या स्वतः समाधान हुने शाखाको विश्वास छ ।
यता निर्माण व्यवसायीले भने गुणस्तरीय काम गर्दागर्दै सामाजिक सञ्जालमा अनावश्यक आरोप लगाइएको भन्दै दुःख व्यक्त गरेका छन् ।
हाल देखिएको समस्या सडकको गुणस्तरसँग नभई नयाँ ‘प्रिमिक्स’ पूर्ण रूपमा सेट नभइसकेको अवस्थासँग सम्बन्धित रहेको स्पष्ट पारे । “बिटुमिन तापक्रमअनुसार सफ्ट र हार्ड हुने भएकाले अहिलेको मौसममा प्रिमिक्स सेट हुन केही समय लाग्छ,” निर्माण व्यवसायीले भने, “सडक किनारमा मोटरसाइकल पार्किङ गर्दा स्टेन्डबाट एउटै बिन्दुमा धेरै भार पर्ने भएकाले केही स्थानमा दबाब देखिएको हो ।”
निर्माण कम्पनीले गुणस्तरमा कुनै कमी कमजोरी भेटिए त्यसको पूर्ण जिम्मेवारी लिन तयार रहेको समेत जनाएको छ ।




















Discussion about this post