बेलडाँडी । मेहनत, अनुशासन र निरन्तर अध्ययनले सफलता अवश्य दिलाउँछ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ चवन्नीका स्थानीय विद्यार्थी शशांक जोशी । माध्यमिक शिक्षा परीक्षा (एसईई) ०८२ मा शशांकले उत्कृष्ट ४ जिपिए हासिल गर्दै आफ्नो परिवार, विद्यालय, बेलडाँडी मात्रै होइन समग्र सुदूरपश्चिम प्रदेशकै गौरव बढाएका छन् ।
महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी (एलबीए)का विद्यार्थी रहेका शशांक जोशीले राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको एसईई ०८२ को नतिजामा पूर्ण ४ जिपिए ल्याउन सफल भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका अनुसार एलबीएका अर्का विद्यार्थी अनमोल चन्दसँगै शशांक सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट ‘टपर १०’ सूचीभित्र पर्न सफल भएका छन् ।
यस वर्ष सुदूरपश्चिम प्रदेशभरिबाट झण्डै ५० हजार हाराहारी विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । ती हजारौं विद्यार्थीबीच शशांकले हासिल गरेको यो सफलता सामान्य उपलब्धी नभई कडा परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलका रूपमा हेरिएको छ ।
शशांकको शैक्षिक उत्कृष्टताको यात्रा भने आजबाट सुरु भएको होइन । उनले दुई वर्षअघि ०८० सालमा बेलडाँडी गाउँपालिका स्तरीय आधारभूत तह कक्षा-८ को परीक्षामा समेत ४ जिपिए ल्याएर पालिका टपर बनेका थिए । त्यसबेलादेखि नै उनी प्रतिभावान विद्यार्थीका रूपमा चिनिन थालेका थिए । अहिले एसईईमा पनि उत्कृष्ट नतिजा ल्याउँदै उनले आफ्नो क्षमता पुनः प्रमाणित गरेका छन् ।
स्वास्थ्यकर्मी दम्पती पवनकुमार जोशी र कुश्मा कुमारी जोशीका पुत्र शशांक सानैदेखि पढाइप्रति अत्यन्त मेहनती, अनुशासित र जिज्ञासु स्वभावका विद्यार्थीका रूपमा परिचित छन् । विद्यालयका शिक्षकहरूका अनुसार उनले नियमित अध्ययन, समयको सही व्यवस्थापन र आत्मअनुशासनका कारण यो सफलता हासिल गरेका हुन् ।
शशांकको यो उपलब्धीपछि अहिले बेलडाँडी क्षेत्रमा खुसीको वातावरण छ । घरपरिवार, आफन्त, विद्यालय प्रशासन, शिक्षक तथा स्थानीयवासीले उनको सफलताको खुलेर प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म उनको उपलब्धीलाई प्रेरणादायी उदाहरणका रूपमा चर्चा गरिएको छ ।
विद्यालयले पनि शशांक जोशी र अनमोल चन्दलाई विशेष सम्मान गर्दै उनीहरूको मेहनत र सफलताको कदर गरेको छ । विद्यालय प्रशासनले यस्ता प्रतिभावान विद्यार्थीले विद्यालयको मात्रै होइन, समग्र जिल्लाकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको जनाएको छ ।
भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने सपना बोकेका शशांकले आफ्नो सफलताको श्रेय परिवार, शिक्षक र निरन्तर मेहनतलाई दिएका छन् । उनले अन्य विद्यार्थीलाई पनि नियमित अध्ययन, सकारात्मक सोच र लक्ष्यप्रतिको समर्पण भए सफलता अवश्य प्राप्त हुने सन्देश दिएका छन् ।
शशांकको यो सफलता ग्रामीण क्षेत्रबाट सहभागि हुने हजारौं विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । सीमित स्रोत-साधन र गाउँको परिवेशबाट आएर पनि मेहनत र इच्छाशक्ति भए राष्ट्रिय स्तरमै उत्कृष्ट बन्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन् ।
आजको समयमा धेरै विद्यार्थी विभिन्न विकर्षणबीच अल्मलिने गरेका बेला शशांक जस्ता मेहनती र लक्ष्यप्रति केन्द्रित विद्यार्थीको सफलता वास्तवमै समाजका लागि प्रेरणादायी कथा बनेको छ ।




















Discussion about this post