काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सांसदहरूले बाढी–पहिरो, डुबान, किसान समस्या, सुशासन, शान्तिसुरक्षा लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै गीता देवकोटाले वर्षायाम सुरु भएसँगै बाढी, पहिरो र डुबानको त्रासमा रहेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने बताइन्।
जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाले तोकेको प्राध्यापन र परीक्षा प्रणालीअनुसार काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे।
त्यस्तै मीना सिंह रखालले दैलेखसहित विभिन्न जिल्लामा बाँदर र बँदेलका कारण किसान मर्कामा परेको उल्लेख गर्दै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरिन्।
रञ्जित कर्णले सुशासनको नाममा ट्रेड युनियन खारेज गर्न नहुने बताउँदै सरकारले उक्त विषय तत्काल सच्याउनुपर्ने धारणा राखे।
सांसद रामकुमारी झाँक्रीले नागरिकलाई तर्साएर शासन चलाउन नहुने उल्लेख गर्दै कानुनविपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।
यस्तै रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको टिप्पणी गर्दै रोजगारी र विकासमुखी कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।
रोशनी मेचेले देशमा शान्तिसुरक्षा कमजोर बन्दै गएको, हत्या र अनलाइन ठगीका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सम्झना देवकोटाले जेनजी प्रदर्शनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।
त्यसैगरी सोमनाथ पोर्तेलले भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ महँगो हुँदा पनि नेपाल आयल निगम घाटामा रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराए।























Discussion about this post