डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १६औँ साधारण सभाको अवसरमा जिल्लामा क्रियाशील विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै महासंघले विभिन्न विधामा सम्मान गरेको हो ।
रेडियो अमरगढीकी स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समिति डडेल्धुरा संवाददाता ममता भट्ट लाई ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय भट्टले महिला, बालबालिका तथा पछाडि पारिएका समुदायका आवाजलाई निरन्तर उठाउँदै आउनुभएको छ । सामाजिक सरोकारका विषयमा सक्रिय पत्रकारिता गर्दै आएकी उहाँ यसअघि पनि विभिन्न सम्मानबाट पुरस्कृत भइसक्नुभएको छ ।
त्यसैगरी गोरखापत्र डडेल्धुरा संवाददाता पुष्कर भण्डारी लाई ‘खोज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । तथ्यमा आधारित खोजमूलक पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघले उहाँलाई सम्मान गरेको जनाएको छ ।
यस्तै सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारी लाई ‘युवा सशक्त पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारितामा युवाको सक्रिय सहभागिता र सिर्जनशील योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
साधारण सभाकै अवसरमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक बाबुराम श्रेष्ठ लाई पनि विशेष सम्मान गरिएको थियो । जिल्लामा पत्रकारिताको संस्थागत विकास तथा पत्रकारिता क्षेत्रको आधार निर्माणमा उहाँले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताको आवश्यकता औँल्याउँदै लोकतन्त्र सुदृढीकरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।





















Discussion about this post