बाजुरा। अविरल वर्षापछि आएको पहिरो र जमिन भासिने घटनाले बाजुराको बडिमालिका नगरपालिका–६, कोर्ध गाउँका ६ घरधुरी पूर्ण जोखिममा परेका छन् भने थप १० घरधुरी सामान्य जोखिममा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन ४ गते राति करिब ९ बजेदेखि परेको लगातार वर्षाका कारण पहिरो खस्नुका साथै जमिन भासिँदा स्थानीय बस्ती जोखिममा परेको हो। घटनाबारे साउन ५ गते बिहान ११ बजे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा तथा बडिमालिका नगरपालिकाको संयुक्त अनुगमन टोली घटनास्थलतर्फ खटिएको थियो। टोली दिउँसो २ बजे घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा प्रसादे साउँद, गोरे साउँद, अम्मर साउँद, भक्त साउँद, लाल साउँद र खडक साउँदका घरधुरी पूर्ण जोखिममा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यस्तै बल साउँद, मन साउँद, शिव बडुवाल, जय साउँद, नर साउँद, भाने साउँद, गोरख साउँद, अर्का बल साउँद, खन्टे ल्वार र पवन विकका घरधुरी सामान्य जोखिममा रहेका छन्।
प्रहरीका अनुसार हालसम्म उक्त घटनाबाट कुनै मानवीय वा चौपाया क्षति भएको छैन। जोखिममा रहेका परिवारहरू तत्काल विस्थापित नभए पनि बस्ती जोखिममा रहेकाले आवश्यक सतर्कता अपनाइएको छ।
घटनास्थलमा प्रहरी टोलीले सर्जमिन मुचुल्का तयार गरी राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ। प्रभावित क्षेत्र जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब ७.८ किलोमिटर पश्चिममा पर्दछ।





















Discussion about this post