शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णयको स्वागत गर्दै प्रभु साहले उठाए थप कर खारेजीको माग

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको घोषणाको स्वागत गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको उक्त निर्णयको उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गरेका हुन्।

साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु नै अनुचित भएको बताएका छन्। आम नागरिकको भावना र मागलाई सम्बोधन गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु स्वागतयोग्य र प्रशंसनीय कदम भएको उनको भनाइ छ।

यस्तै, अध्यक्ष साहले राइड सेयरिङ (सवारी साझेदारी) सेवा र बिजुली महसुलमा लगाइएको कर पनि तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनले शिक्षा र स्वास्थ्य कर हटाउने निर्णय सकारात्मक भए पनि अन्य आवश्यक सेवामा लगाइएका अनावश्यक करहरू हटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सरकारले राइड सेयरिङ सेवा तथा बिजुली महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको उल्लेख गर्दै साहले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यस्ता क्षेत्रमा कर लगाउनु न्यायोचित नभएको बताएका छन्। सरकारले यस विषयमा पनि छिट्टै सकारात्मक निर्णय लिनेमा आफू आशावादी रहेको उनले विश्वास व्यक्त गरेका छन्।

आजपा अध्यक्ष साहले सरकार परिवर्तनसँगै विभिन्न शीर्षकमा थपिँदै आएका अनावश्यक करहरूको आफ्नो पार्टीले सुरुदेखि नै विरोध गर्दै आएको उल्लेख गरेका छन्। उनले यस्ता कर खारेजीको माग गर्दै आजपाले विगतदेखि नै आन्दोलनसमेत गर्दै आएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित