बेलडाँडीमा रास्वपाको प्रवेश लहर जारी, काँग्रेस-एमालेका जिल्ला तथा सक्रिय नेताकार्यकर्ता रास्वपामा आबद्ध

बेलडाँडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेको क्रम स्थापनाकालदेखि नै निरन्तर बढिरहेको दाबी गरिएको छ । यसैक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामीको उपस्थितिमा बेलडाँडीमा नेपाली काँग्रेस र नेकपा (एमाले) का जिल्ला तथा सक्रिय नेताकार्यकर्तासहित दर्जनौँ नागरिक रास्वपामा प्रवेश गरेका छन् ।

रास्वपा बेलडाँडीका सभापति तेज सिंह धामीका अनुसार लामो समयदेखि परम्परागत राजनीतिक दलमा सक्रिय रहेका नेताकार्यकर्ता आफ्ना दलप्रति असन्तुष्ट हुँदै स्वस्फूर्त रूपमा रास्वपामा आबद्ध भइरहेका छन् ।

उनले भने, “रास्वपा कुनै सीमित समूहको पार्टी होइन, इमान्दार, सक्षम र जनताको हितमा काम गर्न चाहने सबैका लागि खुला राजनीतिक घर हो । परिवर्तनको चाहनाले नै आज धेरै साथीहरू रास्वपा रोज्दै हुनुहुन्छ ।“

उनका अनुसार नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य गणेश महर बिष्ट, बेलडाँडी-२ का उपसभापति शेर सिंह ठकुराठी, सक्रिय सदस्य नरेशबहादुर बिष्ट, एमालेका सक्रिय सदस्य देवी सुनार, धनबहादुर थापा, कमल चौधरी, दिलबहादुर थापा, नेपाली काँग्रेसकी पार्वती बिष्ट, डम्बरसिंह रावत, पूर्व नेपाली सेना लालबहादुर बडुवाल, रोशन कार्की लगायत दर्जनौँ नेताकार्यकर्ता तथा सर्वसाधारणले रास्वपामा प्रवेश गरेका छन् ।

नवनियुक्त सदस्यहरूलाई सांसद जनक सिंह धामीले पार्टीको ब्याज र झण्डा प्रदान गर्दै स्वागत गरेका थिए । सो अवसरमा उनले “राजनीति पदका लागि होइन, जनताको सेवाका लागि हुनुपर्छ । रास्वपाले इमान्दार, उत्तरदायी र जनमुखी राजनीति गर्ने अभियान अघि बढाएको छ । पार्टीमा प्रवेश गर्ने सबै साथीहरूले जनविश्वास कायम राख्दै जनहितमा समर्पित भएर काम गर्नुहोस्,“ भन्ने आग्रह गरे ।

पार्टी प्रवेश गर्ने नेताकार्यकर्ताले आफूहरू लामो समयसम्म परम्परागत दलमा आबद्ध रहे पनि पार्टीभित्रको असमान व्यवहार, अवसरको अभाव र नेतृत्वप्रतिको असन्तुष्टिका कारण नयाँ राजनीतिक विकल्प रोज्न बाध्य भएको बताएका छन् । उनीहरूले अब जनअपेक्षाअनुसार पारदर्शी, उत्तरदायी र जनकेन्द्रित राजनीति गर्ने उद्देश्यका साथ रास्वपामा आबद्ध भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित