बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ स्थित झिलमिला फाँटा खेलमैदानमा स्व. शंकरराज चिमाडी मेमोरियल क्रिकेट कप प्रतियोगिता सुरु भएको छ। शुभदीपावलीको अवसरमा बैवाह युनाइटेड क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन्।
सोमबार एक कार्यक्रमका बीच बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रानाले खेलकुदको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुदले युवाको प्रतिभा उजागर गर्नुका साथै स्थानीयस्तरमा आपसी सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
अध्यक्ष रानाले प्रतियोगिता सञ्चालन भइरहेको झिलमिला फाँटा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचारप्रसार र संरक्षणमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा समेत जोड दिए।
प्रतियोगितामा विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत ट्रफी प्रदान गरिने आयोजक क्लबका खगेन्द्र महराले जानकारी दिए।
स्वर्गीय शंकरराज चिमाडीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा युवामा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्रबहादुर खड्का, बीओपी झिलमिलाका प्रमुख मानबहादुर चौधरी, प्रहरी चौकी झिलमिलाका प्रमुखलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा स्वर्गीय चिमाडीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
स्वर्गीय चिमाडी गणेश माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। शिक्षण पेसासँगै खेलकुदमा विशेष रुचि राख्ने उनी खेल रेफ्रीका रूपमा समेत सक्रिय थिए। शिक्षण कार्यमा संलग्न रहेकै बेला उनको आकस्मिक निधन भएको थियो।
उनको खेलप्रतिको योगदान र स्मृतिलाई जीवन्त राख्दै स्थानीय क्रिकेटको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महराले बताए ।





















Discussion about this post